सर्वोच्चमा रवि र छविका रिटमाथि आज पनि सुनुवाइ, छुट्लान् ?

238
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमाथि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीद्वारा दायर रिटको सुनुवाइ जारी छ । यी दुवै रिटमा एउटै इजलासमा बहस चलिरहेको छ।

बिहीबारको इजलासमा रवि लामिछाने र छविलाल जोशीका तर्फबाट अधिवक्ताहरूले बहस पूरा गरेका छन् । सरकारी वकिलको तर्फबाट पनि बहस सम्पन्न भइसकेको छ। शुक्रबार(आज) जाहेरवालाका कानुन व्यवसायीले बहस गर्नेछन्, त्यसपछि जवाफी बहस हुनेछ ।

जाहेरवालाको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बिहीबार नाम टिपाएका छन् ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशी पुर्पक्षका लागि भैरहवा, रुपन्देहीस्थित कारागारमा थुनामा छन् । यसअघि जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, उच्च अदालत बुटवलले उक्त आदेश उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो ।

लामिछानेले उच्च अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्, र यो रिट पनि छविलाल जोशीको रिटसँगै एकैपटक सुनुवाइ भइरहेको छ।

सर्वोच्चले उच्च अदालतको फैसला उल्टायो भने रवि आजै रिहा हुन पनि सक्छन् । तर यदि त्यसलाई सही ठहर्‍याएको खण्डमा उनी थुनामै बस्नुपर्ने छ ।