मानव तस्करी गिरोहसँग साँठगाँठ फेला परेपछि विमानस्थल अध्यागमनका प्रमुख पक्राउ

2.1k
Shares

काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मार्दै बुधबार नियन्त्रणमा लिएको छ ।

मानव तस्करीमा संलग्न गिरोहसँग भट्टराईको साँठगाँठ रहेको शंकामा अनुसन्धान थालेको अख्तियार स्रोतले जनाएको छ । प्रारम्भिक प्रमाणहरू फेला परेपछि आयोगको टोलीले विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको हो । अनुसन्धानको क्रममा भट्टराईको मोबाइल फोन जफत गरिएको छ भने कार्यालयबाट केही महत्वपूर्ण कागजातहरू पनि बरामद गरिएको स्रोतको भनाइ छ ।

मोबाइलमा महत्त्वपूर्ण विवरणहरू रहेको र त्यसबारे अब विस्तृत अनुसन्धान हुने उनको भनाइ छ ।

हालै भिजिट भिसाको सेटिङमार्फत अवैध रकम असुली भइरहेको सूचनाको आधारमा छापा मारिएको स्रोतको भनाइ छ ।

भट्टराईको संलग्नताबारे जानकारी मन्त्रालयसम्म पुगेपछि उनलाई एक दिनअघि मात्रै मन्त्रालय फिर्ता बोलाइएको गृह मन्त्रालय स्रोतको भनाइ छ । यसअघि जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी (एलडीओ) हुँदा पनि उनीमाथि भ्रष्टाचारसम्बन्धी मुद्दा लागेको थियो।