
काठमाडौं । लामो रस्साकसीपछि नेपाल राष्ट्र बैंकले गभर्नर पाएको छ । केन्द्रीय बैंकले डा. विश्वनाथ पौडेललाई १८ औं गभर्नरका रुपमा पाएको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद वैठकले सिफारिस समितिबाट आएका ३ नाममध्ये डा. पौडेललाई केन्द्रीय बैंकको जिम्मेवारी सुम्पिएको हो । समितिले पौडेलसँगै डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।
गभर्नरका लागि कांग्रेसबाट डा. गुणाकर भट्ट, रवीन्द्र पाण्डे, राजेन्द्रकिशोर क्षेत्री, डा. अंगराज तिमल्सिना, डा. समीर खतिवडाको नाम चर्चामा थियो भने एमालेबाट नीलम एक्लि प्रतिस्पर्धी थिइन् ।
अब बुझौं, गभर्नर नियुक्तिका क्रममा कुन दिन के भयो ?

फागुन २१, २०८१ः गभर्नर नियुक्तिको विषय मन्त्रिपरिषदमा छलफल
फागुन २७, २०८१ः अर्थ मन्त्रालय सम्बद्ध निकायका पदाधिकारी नियुक्तिसम्बन्धि मापदण्ड संशोधन गरी ६५ वर्ष उमेर पार गरेको व्यक्ति पनि ती निकायका पदाधीकारी बन्न पाउने व्यवस्था
फागुन २४, २०८१ः कानुनी व्यवस्थाअनुसार १ महिना अगावै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरी सार्वजनिक सूचना जारी गर्न सरकार असफल
चैत ११, २०८१ः अर्थमन्त्री विष्णु पौडेल, पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. पौडेल सम्मिलित गभर्नर सिफारिस समिति गठन
चैत १८, २०८१ः प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा पूर्वमुख्यमन्त्री राजेन्द्रकिशोर क्षेत्रीलाई गभर्नर बनाउन दबाब ।
चैत १८, २०८१ः अर्थ मन्त्रालयद्वारा संशोधित मापदण्ड सार्वजनिक ।
चैत २४, २०८१ः ५ वर्षे कार्यकाल सकेर निवर्तमान गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट बिदा ।
चैत २५, २०८१ः अर्थमन्त्री पौडेलद्वारा डा. नीलम ढुंगाना तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी ।
चैत २६, २०८१ः भागबण्डा नमिलेकाले गभर्नर नियुक्तिमा ढिलाइ भएको कुरा सरकारका प्रवक्ताद्वारा अस्विकार ।
चैत ३१, २०८१ः अधिवक्ता विशाल थापा र प्रतिभा उप्रेतीद्वारा अर्थसम्बद्ध निकायका पदाधिकारी नियुक्तिसम्बन्धि मापदण्ड संशोधन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता ।
वैशाख २, २०८२ः न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासद्वारा तत्काल ६५ वर्ष उमेर पूरा भएको व्यक्तिलाई गभर्नर नियुक्ति नगर्न सरकारको नाममा अल्पकालिन अन्तरिम आदेश जारी ।
वैशाख २, २०८२ः प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति देउवाबीच भेटवार्ता ।
वैशाख ३, २०८२ः सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा गर्भनरको विषयमा ओली र देउवाबीच सहमति भएको ।
वैशाख ४, २०८२ः कांग्रेस पदाधिकारी वैठकमा सभापति देउवाद्वारा गभर्नर कांग्रेसले पाउने जानकारी ।
वैशाख ५, २०८२ः गभर्नर बनाउने कांग्रेस सभापति देउवाको आश्वासनअनुसार राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टद्वारा राजीनामा ।
२०८२ वैशाख ५ गतेः गभर्नरका लागि डा. भट्टको योग्यता नपुग्ने भन्दै थापा र उप्रेतीद्वारा सर्वोच्चमा पुरक निवेदन ।
वैशाख ६, २०८२ः कार्यकारी निर्देशक भट्टको राजीनामा अस्वीकृत ।
वैशाख ८, २०८२ः उप्रेती र थापाको मुद्दा पेशी चढ्यो ।
वैशाख ९, २०८२ः गभर्नर सिफारिस समितिलाई रबर स्ट्याम्प बनाइएको भन्दै सिफारिस समिति सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा ।
वैशाख ११, २०८२ः गभर्नर नियुक्ति ढिलाई हुनु दुर्भाग्यपूर्ण रहेको कांग्रेसको धारणा ।
वैशाख १४, २०८२ः डा. भट्टको राजीनामा स्वीकृत गर्न अर्थमन्त्रीद्वारा कामु गभर्नरलाई निर्देशन ।
वैशाख १७, २०८२ः अधिवत्ताद्वय थापा र उप्रेतीको रिटमा सुनुवाई । गुणाकरको अयोग्यताबारे पुरक निवेदन इजलासद्वारा अस्विकार । मापदण्ड संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश ।
वैशाख १७, २०८२ः सिफरिस समितिको रिक्त सदस्य पदमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त गरी समितिको पुनर्गठन ।
वैशाख १९, २०८२ः गभर्नर नियुक्ति गर्न बोलाइएको मन्त्रिपरिषद्को बैठक स्थगित ।
वैशाख २२, २०८२ः प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल प्रचण्डद्वारा १ महिनामा पनि गभर्नर नियुक्त गर्न नसक्नाले दुई तिहाईको बेलुन फुटिसकेको अभिव्यक्ति ।
वैशाख २२, २०८२ः ओली–देउवाबीच डेढ घण्टा छलफल, २५ गते गभर्नर नियुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ।
वैशाख २३, २०८२ः गभर्नर कांग्रेसलाई दिन प्रधानमन्त्री तयार रहेको र राष्ट्र बैंकभित्रैको समस्याले ढिलाइ भएको देउवाद्वारा जानकारी ।
वैशाख २८, २०८२ः महाप्रसाद अधिकारी सिफारिस समितिमा अयोग्य हुने भन्दै अधिवक्ता नवीन धितालद्वारा सर्वोच्चमा रिट दर्ता।
वैशाख २८, २०८२ः कांग्रेसले गभर्नरका रुपमा अघि सार्ने भएपछि समिति सदस्यद्वारा राजीनामा ।
वैशाख ३०, २०८२ः महाप्रसादविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, कारण देखाउ आदेश जारी ।
वैशाख ३०, २०८२ः पार्टी सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै डा. पौडेलविरुद्ध सर्वोच्चमा रिट ।
वैशाख ३१, २०८२ः नयाँ गभर्नर सिफारिस समिति गठन । समितिमा अधिकारी र डा. पोषराज पाण्डे ।
जेठ १, २०८२ः गभर्नरमा आफ्नो उम्मेदवार नभएको र मेरिटोक्रेसीका आधारमा नियुक्त गर्ने प्रधानमन्त्रीको उद्घोष ।
जेठ १, २०८२ः २–४ दिनमै गभर्नर नियुक्त हुने सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङको भनाइ ।
जेठ २, २०८२ः गभर्नरका लागि विश्व पौडेलको योग्यता नपुग्ने भन्दै पुगेको रिट सर्वोच्च प्रशासनद्वारा दरपिठ ।
जेठ ५, २०८२ः देउवा–ओली भेटवार्ता स्थिगति । गभर्नर नियुक्त हुने चर्चा बीच मन्त्रिपरिषद बैठक पनि स्थगित ।
जेठ ६, २०८२ बिहानः प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, गभर्नरका विषयमा सहमती ।
जेठ ६, २०८२ साँझ ५ बजेः सिफारिस समितिको वैठकबाट पौडेलसहित ३ जनाको नाम गभर्नरका लागि सिफारिस ।
जेठ ६, २०८२ साँझ ६ बजेः मन्त्रिपरिषदद्वारा गभर्नरमा विश्व पौडेल चयन ।
क्लिकमान्डुको विशेष श्रृंखला ‘को र कस्तो गभर्नर ?’ हेर्न यहाँ क्लिक गर्नुस् ।
प्रतिक्रिया