
काठमाडौं । अटो व्यवसायी तथा लाइफ अटो मोबाइल प्रालिका सञ्चालक विष्णु अग्रवालले आफ्नो चरित्रहत्या गरिएको दाबी गर्दै दायर गरेको मुद्दामा अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको एकल इजलासले एमएडब्ल्यू वृद्धिका सञ्चालक अग्रवालमाथि क्षति पुग्ने गरी सामग्री प्रकाशित भएको देखिएको ठहर गर्दै विपक्षी सयपत्री मिडिया प्रालिका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
जेठ ५ गते जारी आदेशमा अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म अग्रवाल तथा उनको एमएडब्ल्यू कम्पनीविरुद्धका सामग्री प्रकाशन, प्रसारण वा पुनः सम्प्रेषण नगर्नु/नगराउनु भन्ने निर्देशन दिएको छ । साथै, यस्ता सामग्री तत्काल सबै अनलाइन तथा विद्युतीय माध्यमबाट हटाउन पनि आदेश दिइएको छ ।
लाइफ अटो मोबाइल प्रालिले दायर गरेको निवेदनमा ‘एमएडब्ल्यू फ्रड गाडी बेचेर आफैंले कब्जामा लिई सवारी धनीको रुवाबासी’, ‘इभीमा समस्यै समस्या’, ‘गाडी आयातमा भन्सार छलेर राज्यमाथि लुट मच्चाउने’, ‘जसरी हुन्छ ठगी गर्ने’ जस्ता शीर्षकमा युट्युब च्यानल ‘योहो टेलिभिजन एचडी’, कार्यक्रम ‘समयचक्र’ तथा उनीहरूको फेसबुक पेजमार्फत सामग्री सार्वजनिक गरिएको थियो ।
अदालतले यस्ता सामग्रीहरू पहिलो दृष्टिमा निवेदकको व्यावसायिक तथा व्यक्तिगत प्रतिष्ठामा गम्भीर असर पार्ने प्रकृतिका देखिएकाले संविधानको धारा ४४ र निषेधाज्ञा सम्बन्धी नियमावली २०५४ को नियम ३४ बमोजिम अन्तरिम आदेश जारी गरिएको उल्लेख गरिएको छ।









प्रतिक्रिया