डीएसपीले चलाएको कारले ४ सांसद चढेको गाडीलाई ठोक्यो


विराटनगर । झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले चलाएको निजी गाडीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरीमा खण्डमा सांसद सवार गाडीलाई ठक्कर दिएको छ । सोमबार कोशी प्रदेश सभाका चार सांसद सवार गाडीलाई खड्काको गाडीले ठक्कर दिएको हो ।

पूर्व जाँदै गरेको खड्काले चलाएको बा ५ च ३५२० नम्बरको रातो कारले पूर्वबाट विराटनगर आउँदै गरेको प्रदेश सभा सदस्य सवार बिइए १४०६ नम्बरको कारलाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

उनकाअनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन ।

गाडीमा प्रदेश सभा सदस्यहरु विद्या चाम्लिङ, मैयाँ श्रेष्ठ, नम्बरलाल धिमाल र राधाकृष्ण खनाल सवार थिए । प्रहरी प्रवक्ता जोशीले भने,’दुर्घटनामा कोही पनि घाइते भएका छैनन् ।’

प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएको छ । प्रदेश सभा सदस्यहरुमा खनाल र धिमाल एमाले, श्रेष्ठ नेपाली कांग्रेस र चाम्लिङ नेकपा एसकी सांसद हुन् । उनीहरु आज कोशी प्रदेश सभामा प्रस्तुत हुने आर्थिक वर्ष २०८२/८३ को प्रतावित वार्षिक नीति तथा कार्यक्रममा सहभागी हुन विराटनगर आउँदै थिए । प्रदेश सभा सदस्य सवार गाडीका चालक झापा दमकका भेषराज श्रेष्ठ रहेको प्रहरीले बताएको छ ।