
गणतन्त्र दिवस मूल समारोह समिति बैठकमा प्रधानमन्त्री ओलीको निर्देशन : “महत्वपूर्ण बैठकमा जनप्रतिनिधिको अनिवार्य उपस्थिति आवश्यक”
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा काठमाडौं महानगरपालिका मेयर बालेन शाह अनुपस्थित भएकोप्रति चासो व्यक्त गरेका छन् । शाहको सट्टा उपमेयर सुनिता डंगोल बैठकमा सहभागी थिइन् ।
ओलीले यस्ता महत्वपूर्ण बैठकमा जनप्रतिनिधिहरूको उपस्थिति अनिवार्य हुनुपर्ने बताए । यद्यपि उनले बालेनको नाम भने लिएनन् । प्रतिनिधि बैठकमा नआएको उल्लेख गर्दै आगामी बैठकहरूमा उपस्थिति सुनिश्चित गर्न उनले निर्देशन दिए ।
‘कहिले पनि नआउने नाम राखिरहनु पर्ने मानको खातिर मान चाँही छोड्दा पनि हुन्छन्, हामीले केहीको नाम हरेक फङ्सनमा राखिरहन्छौं कहिले पनि देखा पर्दैनन्,’ बालेनको नाम नलिइ ओलीले भने, ‘कहिले पनि नआउनेको नाम पद ओहोदाका कारण टाँसिरहनु पर्ने कुनै व्यक्तिलाई महत्वै छैन वास्तै छैन भने त्यो सधै नाम झुन्ड्याइ रहनु पर्दैन , कित तपाईंहरु आउने हो कि होइन रुची छ कि छैन सोध्नुस् । हाइ लेभल कमिटीमा सहभागीताका लागि आमन्त्रण गर्ने तर एक दुई पटक होइन तीन पटक लगातार आएन भने त ! कुनै वास्ता नभएपछि सधै बोलाउनु पर्ने हामीलाई बाध्यता हुने ? यस्तो हुँदैन । अर्को पटकसम्ममा सोधिखोजि गर्नुहोला रेकर्ड गरे आउने हो कि होइन सोधेर राख्नू ।’
बैठकमा गृह मन्त्रालयले समारोह समितिको गठन र गणतन्त्र दिवस (जेठ १५) का लागि तीनदिने कार्यक्रम प्रस्ताव राखेको थियो। बैठकले जेठ १४, १५, र १६ गते दीप प्रज्वलनसहित केन्द्र, प्रदेश, स्थानीय तह र निजी क्षेत्रको समावेशमा कार्यक्रम मनाउने निर्णय गर्यो । विदेशस्थित नेपाली दूतावासहरूमा पनि कार्यक्रम तय गरिएका छन् । मूल समारोह भने जेठ १५ गते टुँडिखेलस्थित सैनिक मञ्चमा हुनेछ।
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई औपचारिकतामा सीमित नराखी, जनस्तरसँग जोडेर भव्य रूपमा मनाउन सबैमा आग्रह गरेका छन् ।








प्रतिक्रिया