पाल्पा सिमेन्टले उद्योगको क्षमता विस्तार गर्दै, ४४ हेक्टर जग्गा अधिग्रहण गर्ने

६ महिनामा साढे १ अर्बको कारोबार


काठमाडौं । आरएमसी ग्रुपको पाल्पा सिमेन्ट इन्डष्ट्रीले चुन ढुंगा उत्पादन गर्न ४४ हेक्टर जग्गा अधिग्रहण गर्ने भएको छ । कम्पनीले उद्योगको क्षमता विस्तार गर्दै थप ४४ हेक्टर जग्गा अधिग्रहण गर्ने भएको हो ।

कम्पनीअनुसार हाल उक्त जग्गा अधिग्रहणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गर्ने कार्य भइरहेको छ । उक्त क्षेत्रबाट वार्षिक १० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन हुने अपेक्षा गरेको छ ।

कम्पनीले हाल ५ हेक्टर जग्गा अधिग्रहण गरी क्लिङ्कर उत्पादन गर्दै आएको छ । उक्त क्षेत्रबाट उत्पादन भएको क्लिङ्कर उद्योगमा प्रयोग भइरहेको छ भने बढी भएको क्लिङ्कर अन्य उद्योगलाई बिक्री गर्दै आएको छन् ।

पाल्पा जिल्लामा रहेको उद्योगले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १ अर्ब २९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२४ को ६ महिनाको अवधिमा १ अर्ब ८० करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ को सोही अवधिमा १ अर्ब २९ करोड रुपैयाँको मात्रै व्यापार गरेको छ ।

कम्पनीअनुसार सन् २०२५ मा मूल्यमा उच्च प्रतिस्पर्धा हुँदा व्यापारमा प्रभाव परेको हो । कम्पनीले सन् २०२४ मा ४ अर्ब १६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२३ मा ४ अर्ब १२ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब ८१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००९ मा स्थापना भएको कम्पनीले सन् २०१९ देखि क्लिङ्कर र सन् २०२० देखि सिमेन्टको व्यवसायिक उत्पादन सुरु गरेको थियो । त्यस्तै कम्पनीले प्राथमिक शेयर निष्काशन गर्ने उद्देश्यसहित सन् २०२१ मा पब्लिक कम्पनीमा परिणत गरेको थियो।

सिमेन्ट उद्योगले ओपीसी सिमेन्ट ४३ र ५३ ग्रेडको उत्पादन गर्दै आएको छ भने पीपीसी र पीएससी सिमेन्ट तान्सेन ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीसँग दैनिक १८ सय मेट्रिक टन क्लिङ्कर र २२ सय मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ।

पछिल्लो समय सरकारले सिमेन्ट निर्यातमा नगद अनुदानको व्यवस्था गरेको थियो । उक्त व्यवस्थाले भारततर्फ सिमेन्ट र क्लिङ्करको निर्यात बढ्दो छ । कम्पनीले सन् २०२४ मा २५ प्रतिशत व्यापार भारतमा सिमेन्ट निर्यात गरेर आम्दानी गरेको जनाएको छ ।सन् २०२३ मा ८ प्रतिशत आम्दानी गरेको थियो ।