काठमाडौं- हेटौंडा कान्ति लोकपथ सडकअवरुद्ध


हेटौंडा । बाढीले डाइभर्सन वगाएपछि मकवानपुरको हेटौंडा र काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ को सीमानास्थित बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

आज सोमबार बिहान परेको पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएको डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको भिषण बाढीले बगाएको थियो । पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको थियो ।