
काठमाडौं । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ बाट ठूलो परिमाणमा सुन जस्तो देखिने पहेँलो धातु बरामद गरिएको छ ।
केरुङबाट काठमाडौंतर्फ आउँदै गरेको स्याउ लोड गरिएको गाडीबाट अन्दाजी ७ किलो ६५३ ग्रामको पहेँले धातु फेला परेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो साढे १ बजे बा ४ ख ६२०१ नम्बरको गाडी जाँच गर्ने क्रममा उक्त सुन बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी खेमबहादुर शाहीका अनुसार उक्त पहेँलो धातु सुन हुनसक्ने आशंकामा परीक्षण प्रक्रिया अघि बढाइएको छ ।
गाडी चालक २४ वर्षीय किशोर भुजेललाई नियन्त्रणमा लिइएको छ । उनी रसुवाकै हुन् ।
प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बरामद गरिएको वस्तु सातवटा बिस्कुटको रूपमा रहेको जानकारी दिए । त्यसलाई भन्सार कार्यालयमा पठाइएको र सुनको वास्तविक मात्रा र प्रकृति पुष्टि हुन बाँकी रहेको बताए ।








प्रतिक्रिया