
काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गर्ने क्रममा भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दामा बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायतका व्यक्तिहरू संलग्न छन्।
उनीहरूमाथि करिब ५६ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा बिगो माग दाबी गरिएको छ।
अख्तियारका अनुसार पूर्वमन्त्री यादवसँग २९ करोड ९९ लाख ८६ हजार १३५ बिगो दाबी गरिएको छ । मेयर-उपमेयरसँग ५६ करोड ७१ लाख ७ हजार २९२ बिगो मागदाबी गरिएको छ ।
मन्त्रालयका कानून अधिकृत भुजेलसँग २९ करोड ९९ लाख ८६ हजार १३५ रूपैयाँ, नगरपालिकाका इन्जिनियर निरन्जन लामिछाेनसँग १० करोड १४ लाख ९५ हजार, हाल निलम्बित इन्जिनियर सागर पौडेलसँग ४६ करोड ५६ लाख १२ हजार २९२, लेखा अधिकृत विश्वराज पोखरेलसँग ५६ करोड ३ लाख ३४ हजार ४०४ रूपैयाँ, बिगो माग गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
तत्कालीन इन्जिनियर निरन्जन लामीछाने, सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल मेयर, उपमेयर, प्रशासकीय अधिकृतसहित यी सबै कर्मचारी यसअघिकै भरत ताल भ्रष्टाचार प्रकरणमा मुद्दा दर्तापछि निलम्बित छन् ।
सर्लाहीको बागमती नगरपालिका-४ र १२ को उक्त परियोजना सर्लाहीको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटो गैरकानूनी रूपमा उत्खनन् गरी माछापोखरी बनाउने भनेर संघ, प्रदेश सरकारसमेतको करोडौं रकम खर्चेर गैरकानूनी संरचना बनाएकोमा अख्तियारले मुद्दा चलाएको हो ।
प्रतिक्रिया