उत्पादनमूलक क्षेत्रका पाँच कम्पनीः कसको वित्तीय सूचक कस्तो ?


काठमाडौं । काठमाडौं । उत्पादनमुलक क्षेत्रका कम्पनीको वित्तीय सूचकमा सुधार देखिन थालेको छ । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार उत्पादनमूलक कम्पनीको वित्तीय अवस्थामा सुधार देखिन थालेको हो ।

लामो समयसम्म खच्किदो प्रदर्शन गरिरहेका उत्पादनमूलक कम्पनीहरुको वित्तीय स्थितिमा तेस्रो त्रैमासबाट भने सुधारको स्थिति देखिएको हो । चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सर्वोत्तम सिमेन्ट, सोनापुर मिनिरल्स, घोराही सिमेन्ट, शिवम् सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरण सकारात्मकतर्फ मोडिएको स्थितिमा देखिन्छ ।

उत्पादनमूलक कम्पनी सुधारात्मक लयमा फर्कनुले मुलुकको अर्थतन्त्र सहजतातर्फ गएको हो कि भन्ने चर्चा पनि अहिले भइरहेको छ । तर, सिमेन्ट कम्पनीको हकमा भने उद्योगहरुले यसअघि मूल्य वृद्धि गरेका कारण त्यसको नतिजाले पनि वित्तीय विवरण सुधारमा सहयोग गरेको देखिन्छ ।

आफूहरु ठूलो घाटोमा गएको भन्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमासबेला सिमेन्ट उद्योगहरुले प्रतिबोरा साढे दुई सय रुपैयाँसम्म मूल्य वृद्धि गरेका थिए । उक्त मूल्य वृद्धिबाट सिमेन्टको बिक्री परिमाण नबढेपनि नाफा वृद्धिमा भने सहयोग पुराएको थियो जसको, नतिजा चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा देखिएको हो ।

कुन कम्पनीको वित्तीय अवस्था कस्तो?

सर्वोत्तम सिमेन्ट
सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा भने १२ करोड ७ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । ६० करोड बढी खुद नाफा गरेको कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ५५ करोडबाट ६ अर्ब ८१ करोड पुगेको छ ।

प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीको चैत मसान्तसम्मको कुल खर्च ६८ करोड २ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो खर्च ५२ करोड २८ लाख रुपैयाँ थियो । ३० करोड ४७ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च भने घटेर २२ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १२.७० रुपैयाँले बढ्दै १६.१६ रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १९३.९३ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात ४८.८५ गुणा छ । ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ छ ।

घोराही सिमेन्ट
चालु आवका तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार घोराही सिमेन्ट इन्डष्ट्रि ५५ करोड ४३ लाख रुपैयाँ खुद घाटामा छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो घाटा ६४ करोड २५ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा कम्पनीको नोक्सानी घटेको छ ।

कम्पनीको उत्पादनबाट हुने आम्दानीमा भने वृद्धि देखिएको छ । गत आवको चैतसम्म सिमेन्ट बिक्रीबाट हुने आम्दानी ३ अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको चाल आवको चैतसम्म आईपुग्दा त्यसबाट बढेर ३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको वित्तीय खर्च ४१ करोड ८५ लाखबाट बढेर ६८ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ छ । गत आवको चैतसम्म भने कम्पनीको सञ्चित आम्दानी २ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ थियो ।

प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी १२.१४ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ १९०.८० रुपैयाँ छ ।

रिलायन्स स्पिनिङ
चालु आवको तेस्रो मैमाससम्ममा रिलायन्स स्पिनिङले ३२ करोड ४२ लाख रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो ५ करोड ३ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको कुल नाफामा समेत सुधार आएको छ ।

चालु आवको तेस्रो त्रैमाससम्ममा रिलायन्सले ७ अर्ब ३९ करोड १७ लाख ३७ हजार रुपैयाँको व्यापार गरेको छ । गत आवको असारसम्मा कम्पनीको व्यापार ९ अर्ब २० करोड ६० लाख रुपैयाँ थियो । चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २५.४९ रुपैयाँ पुगेको छ ।

शिवम् सिमेन्ट
चालु आवको चैत मसान्तसम्म कम्पनीले ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा २० करोड ४२ लाख रुपैयाँ थियो ।

गत आर्थिक वर्षको चैतमसान्तसम्म ७१ करोड २ लाख कुल खर्च गरेको कम्पनीले चालु आवको चैतसम्ममा भने ६५ करोड ४८ लाख रुपैयाँ कुल खर्च गरेको छ । कम्पनीको वित्तीय खर्च ४ करोड ४९ लाख रुपैयाँबाट बढेर ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

गत आवको तेस्रो त्रेमासमा ५ अर्ब ९९ करोड सञ्चालन आम्दानी रहेकोमा चालु आवमा कम्पनीको यस्तो आम्दानी ५ अर्ब ३९ करोडमा सीमित भएको छ । प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९.७९ रुपैयाँ हुँदा प्रतिसेयर नेटवर्थ १८१.१० रुपैयाँ कायम छ ।

सोनापुर मिनरल्स
सोनापुर मिनरल्स् एन्ड आयल लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ५९ लाख रुपैयाँ खुद घाटामा छ । कम्पनीको प्रकाशित वित्तीय विवरणअनुसार गत आवको सोही अवधिमा भने कम्पनीको २७ करोड ८० लाख रुपैयाँ घाटामा थियो ।

गत आवको तेस्रो त्रैमाससम्ममा २० करोड १९ लाख वित्तीय खर्च रहेको कम्पनीको चालु आवको सोही अवधिमा आईपुग्दा बढेर २६ करोड ४३ लाख कायम भएको छ । वित्तीय विवरणअनुसार चालु आवको चैतसम्म कम्पनीले सिमेन्ट बिक्रीबाट १ अर्ब ७६ करोड आम्दानी गरेको छ ।

गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो आम्दानी १ अर्ब १७ करोड रुपैयाँ थियो । यस अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३.२९ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८५.८६ रुपैयाँ छ ।