कमी कमजोरी सुधार गर्दै सरकार अघि बढ्छ : सभापति देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारका कमीकमजोरी सुधार गर्दै अघि बढ्ने बताएका छन्।

प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सभापति देउवाले कांग्रेस ठुलो पार्टी भएपनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए। उनले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको बताए।

सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सबैको प्रतिनिधित्व संसदमा रहेको जिकिर गरे। उनले २०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका कामहरू भएको उल्लेख गर्दै अहिले पनि मुलुक विकासको बाटोमा अघि बढिरहेको बताए।

त्यस्तै सभापति देउवाले २०५२ सालमा आफू प्रधानमन्त्री हुँदा सांसदहरूलाई सुविधाका लागि सबैको सहमतिले गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याएको स्मरण गर्दै त्यसलाई विरोध गर्नेले पजेरो काण्ड भन्ने गरेको जिकिर गरे।

त्यसबेला भन्सार छुट दिने योजनाको विरोध गर्नेले नै सबैभन्दा पहिले छुटमा गाडी किनेको उनले बताए।

सभापति देउवाले प्रजातन्त्रमा बोल्न पाउने अधिकार भएकाले सोही विषयमा अहिलेपनि टीकाटिप्पणी हुनु ठुलो कुरा भएको धारणा राखे।