प्राधिकरणको लापरवाहीका कारण करेन्ट लागेर बिजुली कर्मचारीको मृत्यु


काठमाडौं । काभ्रेको धुलिखेलमा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ।

बिजुलीको पोलमा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथान बस्ने वर्ष २८ का उपेस परियारको करेन्ट लागेर मृत्यु भएको हो ।

धुलिखेल नगरपालिका ७ स्थित सञ्जीवनी चोकमा बिजुलीको पोलमा काम गरिरहेका परियारलाई ११ हजार भोल्टको हाइटेन्सन लाइनले छोएको थियो।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।

काभ्रेको धुलिखेल नगरपालिका ७ सञ्जिवनी चोकस्थित ११ केभीको हाइटेन्सन लाइनको बिजुलीको पोलमा चढेर तार जोड्न काम गर्दै गर्दा तारमा एक्कासी करेन्ट प्रवाह भएपछि परियारको मृत्यु भएको हो।

यो घटना शनिबार दिनको साढे ११ बजे भएको हो। करेन्ट लागेर मृत्यु भएपछि परियार पोलमै झुण्डिएका थिए। प्रहरीले परियारलाई निकाली पोष्ट मार्टमका लागि धुलिखेल अस्पताल लगेको छ।

परियारले काम गर्दै गरेको लाइन नयाँ लाइन हो। जुन लाइन आज शनिबार चार्ज (विद्युत छाड्ने) गर्ने तयारी थियो। तर तार जडानको काम नसकिँदै काम भइरहेको समयमा विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले लाइन छाड्दा परियारको मृत्यु भएको हो।

स्थानीयले विद्युत प्राधिकरणको लापर्वाहील गर्दा उनको मृत्यु भएको बताएका छन्। लाइन चार्ज गर्ने भनेको पूर्ण रुपमा काम सकिएपछि मात्र गर्नुपर्ने हुन्छ।

तर काम भइरहेको समयमा लाइन चार्ज हुँदा परियारले ज्यान गुमाएका छन्।