ईभी सवारीको विश्व बजार : भविष्यमा कस्तो चुनौतीको सामना गर्ला ?


काठमाडौं । सन् २०२५ को पहिलो त्रैमासिकसम्म आइपुग्दा इलेक्ट्रिक सवारीसाधन (ईभी) को विश्वव्यापी बजार उल्लेखनीय रूपमा विस्तार हुँदै गएको पाइएको छ ।

जलवायु परिवर्तनको जोखिम, पेट्रोलियम इन्धनमाथिको निर्भरता घटाउने प्रयास र प्रविधिको तीव्र विकासले यो क्षेत्रले तीव्र गतिमा बजार पाइरहेको छ । तर यससँगै नयाँ खालका चुनौतीहरू पनि देखा पर्न थालेका छन् । जसले दीर्घकालीन सफलतामा असर पुर्याउन सक्छ ।

इलेक्ट्रिक सवारीसाधनको बजार तीव्र रूपमा विस्तार भइरहेको छ र यसले जलवायु संकट समाधान, ऊर्जा सुरक्षाको सुनिश्चितता, र रोजगारी सिर्जना गर्न सहयोग पुर्याइरहेको छ । तर, दीर्घकालीन सफलताको लागि पूर्वाधार विकास, खनिज आपूर्ति सन्तुलन र प्रविधिमा आत्मनिर्भरता आवश्यक छ ।

नेपाल लगायतका विकासोन्मुख राष्ट्रहरूले आजैदेखि ईभीको क्षेत्रमा रणनीति र पूर्वाधारमा लगानी गरेभने आगामी दशकमा आर्थिक विकास र वातावरणीय दुवै लाभ लिन सक्नेछ ।

ईभी बजारको वर्तमान अवस्था
विविध रिपोर्टहरू अनुसार सन् २०२४ मा विश्वभर करिब १.४ करोडभन्दा बढी ईभी सवारीसाधनहरू बिक्री भएका थिए । यो सन् २०२३ को तुलनामा ३५% वृद्धि हो । सबैभन्दा बढी वृद्धि चीन, यूरोप, र संयुक्त राज्य अमेरिकामा देखिएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को पछिल्लो प्रतिवेदन अनुसार सन् २०२४ मा बिक्री भएका सबै नयाँ कारमध्ये १८% ईभी थिए । यो २०२० मा केवल ४% मात्र थियो। चीन ईभी बजारमा सबैभन्दा अगाडि छ, जहाँ केवल सन् २०२४ मा मात्रै ८० लाखभन्दा बढी ईभी सवारीसाधनहरू बिक्री भए ।

युरोपमा नर्वे, नेदरल्याण्ड्स, जर्मनी र बेलायतजस्ता देशहरू ईभी अपनाउने अग्रणी मुलुकहरू हुन् । संयुक्त राज्य अमेरिकामा पनि टेक्सलाको नेतृत्वमा ईभी बिक्री उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ ।

चीन : सन् २०२४ मा मात्रै ८० लाखभन्दा बढी ईभी बिक्री गरेको थियो । बीवाईडी, नीओ, एक्सपेंगजस्ता कम्पनीको सवारी साधनको बृद्धिदर अत्यधिक छ ।

युरोप : जर्मनी, फ्रान्स, नर्वे, बेलायत लगायतका देशहरूमा सरकारले दिँदै आएको अनुदान, कर छुट र चार्जिङ पूर्वाधार विकासले बजार विस्तारमा सहयोग पुर्याएको छ ।

अमेरिका : टेस्ला एक्लैले करिब २० लाख ईभी बेचेर अग्रता लिएको छ । फोर्ड, जीएम, रिभनजस्ता कम्पनीहरू पनि तीव्र प्रतिस्पर्धामा छन् । व्लुमवर्गको रिपोर्टअनुसार, सन् २०३० सम्ममा विश्वभर बेचिने नयाँ सवारीसाधनमध्ये करिब ४०% विद्युतीय हुने अनुमान गरिएको छ ।

बजार विस्तारमा योगदान दिने कारणहरू
सरकारी नीतिगत प्रोत्साहन :
धेरै देशहरूले ईभी खरिदमा अनुदान, कर छुट, चार्जिङ स्टेसन निर्माणमा सहयोग र उत्पादनमा सहुलियत दिइरहेका छन् । उदाहरणका लागि, अमेरिका सरकारले ईभी खरीदकर्तालाई ४७,५०० को फेडरल ट्याक्स क्रेडिट प्रदान गरेको छ ।

तेजीले सस्तो हुँदै गएका ब्याट्रीहरू :
लिथियम–आयन ब्याट्रीको मूल्य पछिल्लो दशकमा ८०% भन्दा बढी घटेको छ । यो ईभीको उत्पादन लागत कम हुनुमा प्रमुख कारण हो । सन् २०१० मा प्रति केडब्लुएच लागत ४११०० भन्दा माथि थियो, जुन अहिले ४१३९ सम्म झरेको छ । यसले ईभीको उत्पादन लागत घटाएको छ ।

चार्जिङ पूर्वाधार :
विश्वभर करिब ५० लाख सार्वजनिक चार्जिङ स्टेशनहरू निर्माण भइसकेका छन् । चीनमा सबैभन्दा धेरै चार्जिङ पोइन्टहरू छन्

रेंज र गति :
नयाँ मोडेलहरू ४००–६०० किमीको रेंज दिन सक्ने भएका छन्, जुन उपभोक्ताहरूको ‘रेंज एन्जाइटी’ समाधान गर्न सहायक भएको छ ।

तेलको मूल्य अस्थिरता :
पेट्रोलियम इन्धनको मूल्य घटबढ भइरहने हुँदा उपभोक्ता स्थायी विकल्प खोजिरहेका छन् ।

प्रविधिगत सुधारहरू :
गाडीको दायरा, चार्जिङ स्पीड, र ब्याट्री आयुमा आएको प्रगति उपभोक्तालाई ईभीतर्फ आकर्षित गरिरहेको छ ।

प्रमुख कम्पनीहरूको नेतृत्व :
टेक्स्ला, बीवाईडी, भोक्सवागन, बीएमडब्लु, ह्युण्डाई, मर्सिडिज वेन्ज, किया, फोर्ड, जीएम, टाटालगायतका कम्पनीहरुले ईभीमा ठूलो लगानी गरिरहेका छन् । बीवाईडी हाल टेक्स्लासँग प्रतिस्पर्धा गरिरहेको कम्पनी हो, जसले चीनमा मात्र नभई विश्वबजारमा पनि आफ्नो उपस्थिति सशक्त बनाउँदै गएको छ ।

ईभी बजारको आर्थिक प्रभाव
रोजगारी सिर्जना : ईभी निर्माण, ब्याट्री उत्पादन, र चार्जिङ संरचना निर्माणसँग सम्बन्धित उद्योगहरूले लाखौं नयाँ रोजगारी सिर्जना गरिरहेका छन् ।
नवीनतम आपूर्ति श्रृंखला : ईभी उत्पादनमा लिथियम, कोबाल्ट, निकेलजस्ता खनिजहरूको आवश्यकता पर्छ, जसले खनिज व्यापार र आपूर्ति श्रृंखला पुनः परिभाषित गरिरहेको छ ।
तेलमाथिको निर्भरता घट्दै : विश्वभर तेलको मागमा क्रमिक रूपमा गिरावट आउँदै गएको देखिन्छ, जसको दीर्घकालीन असर तेल उत्पादक देशहरूमा पर्न सक्छ ।

भविष्यका चुनौतीहरू :
यद्यपि ईभी बजारमा वृद्धि उत्साहजनक देखिए पनि, यसले समाधान गर्नुपर्ने अनेकौं चुनौतीहरू छन । जुन यसप्रकार छन् ।

चार्जिङ पूर्वाधारको अभाव :
चार्जिङ स्टेशनहरूको संख्याले ईभी अपनाउने दरलाई प्रत्यक्ष प्रभावित गर्छ । धेरै विकासशील देशहरूमा चार्जिङ संरचना नहुँदा प्रयोगकर्ता हिच्किचाउँछन् । उदाहरणको रुपमा भारतमा प्रति १०० किलोमिटरमा औसत १ मात्र सार्वजनिक चार्जिङ स्टेशन छ । नेपालमा त अझै पनि ईभी चार्जिङ पूर्वाधार अत्यन्तै सीमित छन् ।

ब्याट्री कच्चा पदार्थको आपूर्ति संकट :
ईभीब्याट्रीका लागि आवश्यक पर्ने लिथियम, कोबाल्ट, निकेल लगायतका खनिजहरूको आपूर्ति सीमित छ । यी खनिजहरूको उत्खनन मुख्यतः अफ्रिका, दक्षिण अमेरिका र चीनमा केन्द्रित छ, जसले भू–राजनीतिक जोखिमहरू निम्त्याउँछ । उदाहरणको लागि सन् २०२४ मा कङ्गोमा भएको कोबाल्ट खानी बन्दले वैश्विक बजारमा मूल्य अस्थिर बनाएको थियो ।

कोबाल्टको मुख्य आपूर्तिकर्ता कंगो हो, जहाँ बालश्रमको प्रयोग जस्ता मानवीय अधिकारका मुद्दा पनि जोडिएका छन् ।

ब्याट्रीको पुन : प्रयोग र रिसाइकल चुनौती :
ईभीको ब्याट्रीको आयु सामान्यतया ८–१० वर्ष हुन्छ । प्रयोगपछिको रिसाइकल प्रक्रिया जटिल, महँगो र पर्यावरणमैत्री नभएको आरोप लागिरहेको छ । यदि पुनः प्रयोगको नीति समयमै नआएमा ब्याट्री फोहोरको संकट बढ्न सक्छ ।

उपभोक्ताको मूल्य संवेदनशीलता :
धेरै मुलुकमा ईभीको मूल्य परम्परागत सवारीभन्दा निक्कै महँगो छ । सरकारी अनुदानको अभावमा सामान्य वर्गले ईभी किन्न गाह्रो हुन्छ ।

कार्बन फुटप्रिन्टको मुद्दा :
ईभी गाडी आफैं शून्य उत्सर्जन भए पनि, ब्याट्री उत्पादनमा हुने ऊर्जा प्रयोग तथा खनिज उत्खननले वातावरणीय प्रभाव पार्दछ ।

टेक्नोलोजिकल एकरूपता र मर्मत समस्या :
ईभीका लागि आवश्यक सफ्टवेयर, चार्जिङ प्रविधि र पाट्र्सको मापदण्ड एउटै नभएकाले उपभोक्तालाई मर्मत, पाट्र्स उपलब्धता र कम्प्याटिबिलिटीमा समस्या पर्छ ।

विकासशील राष्ट्रहरूको पहुँच र मूल्य समस्या :
धेरै देशमा ईभी गाडी अझै महँगो छ । उत्पादन लागत घटे पनि बजारसम्म पु–याउँदा लाग्ने कर, शुल्क र सेवा पूर्वाधार अभावका कारण उपभोक्ताले उपयोग गर्न सक्दैनन् ।

नवीकरणीय ऊर्जा र ग्रिड दबाब :
ईभी चार्ज गर्न चाहिने विद्युत आपूर्ति अझै पनि धेरै देशमा जलविद्युत, कोइला र ग्यासमा आधारित छ । यदि ग्रिड पर्याप्त बलियो छैन भने ईभीले ऊर्जा संकट उत्पन्न गर्न सक्छ । धेरै ईभी चार्ज गर्दा विद्युत ग्रिडमा अतिरिक्त लोड पर्न सक्छ । यदि ग्रिड व्यवस्थापन प्रभावकारी नभएमा लोडसेडिङसमेत हुनसक्ने सम्भावना हुन्छ । अमेरिकाको केही राज्यमा “टाइम–शिफ्टेड चार्जिङ” लागू गरिएको छ, तर विकासशील देशहरूमा यस्तो व्यवस्थापन अभाव छ ।

आगामी प्रवृत्ति र समाधान :
सस्तो ईभी मोडेलहरू : धेरै कम्पनीहरूले ४१०,०००–४१५,००० को दायरामा सस्तो ईभी ल्याउने योजना बनाइरहेका छन्, जसले जनसाधारणसम्म पहुँच बढाउनेछ ।

सोलार र ब्याट्री स्टोरेजको संयोजन : चार्जिङ स्टेसनहरूलाई सोलार प्यानल र ब्याट्री स्टोरेजसँग जोड्दा ग्रिडको दबाब घटाउन सकिनेछ ।

साझेदारीमा आधारित पूर्वाधार विकास : सरकारले निजी क्षेत्रसँग मिलेर एएए मोडलमा चार्जिङ स्टेशनहरू निर्माण गर्नु आवश्यक छ ।

स्थानीय ब्याट्री उत्पादन : नेपालजस्ता देशहरूले पनि साना स्तरमा ब्याट्री र पुनः प्रयोग प्रविधिमा लगानी गर्ने हो भने दीर्घकालीन ऊर्जा सुरक्षा सुनिश्चित गर्न सकिन्छ ।

सार्वजनिक यातायातमा ईभीको प्राथमिकता : निजी ईभीभन्दा पनि सार्वजनिक ईभी (जस्तै बस, ट्याक्सी) मा लगानीले शहरभित्रको वायु प्रदूषण नियन्त्रण गर्न सकिन्छ ।