‘स्पेक्ट्रमको लागत चुलिँदा मोबाइल सेवा प्रदायकहरू दबाबमा’

56
Shares

काठमाडौं । स्पेक्ट्रमको लागत बढ्दै जाँदा मोबाइल सेवा प्रदायकहरूको लगानी क्षमता घटाउँदै गएको एक प्रतिवेदनले औंल्याएको छ ।

विश्वव्यापी मोबाइल उद्योग संस्था (जीएसएमए)ले सार्वजनिक गरेको ‘ग्लोबल स्पेक्ट्रम प्राइसिङ’ प्रतिवेदन अनुसार स्पेक्ट्रम खरिदमा लाग्ने खर्च हाल मोबाइल अपरेटरहरूको कुल आम्दानीको सात प्रतिशत पुगेको छ। यस्तो खर्च पछिल्लो एक दशकको तुलनामा ६३ प्रतिशतले बढेको देखिएको छ ।

प्रतिवेदन अनुसार उपभोक्ताका लागि मोबाइल डेटा सेवा सस्तो हुँदै गएकाले अपरेटरहरूको आम्दानी घटेको छ। सन् २०१४ देखि २०२४ सम्म प्रति गिगाबाइट आम्दानी ९६ प्रतिशतले घटेको छ ।

सेवाको माग धान्न अपरेटरहरूले स्पेक्ट्रम होल्डिङ ८० प्रतिशतले बढाएका छन्, जसका कारण कुल लागत बढ्दै गएको पनि जीएसएमएको प्रतिवेदनले औल्याएको छ ।

कतिपय स्पेक्ट्रम ब्यान्डमा लागत घटेको भए पनि स्पेक्ट्रम मूल्य आम्दानीको अनुपातमा अझै महँगो भइरहेको उक्त प्रतिवेदनको निष्कर्ष छ। यसले नेटवर्क विस्तार, गुणस्तर सुधार र नयाँ प्रविधिमा लगानी गर्न बाधा उत्पन्न गरिरहेको उल्लेख गरिएको छ।

जीएसएमएका महानिर्देशक विवेक बद्रीनाथका अनुसार, स्पेक्ट्रम महँगो हुँदा आधारभूत पूर्वाधार निर्माणमै लगानी रोकिँदा उपभोक्ता र डिजिटल अर्थतन्त्रमा असर पर्छ। उनले सरकारले स्पेक्ट्रम मूल्य यथार्थपरक बनाउनुपर्नेमा जोड दिएका छन्।

जीएसएमएको उक्त प्रतिवेदन अनुसार कतिपय देशमा कृत्रिम अभाव सिर्जना, अत्यधिक रिजर्भ मूल्य निर्धारण र कडा लाइसेन्स सर्तका कारण स्पेक्ट्रम लागत अनावश्यक रूपमा बढेको उल्लेख छ। कतिपय मुलुकमा त स्पेक्ट्रम लागत अपरेटर आम्दानीको २५ प्रतिशतसम्म पुगेको छ।

जीएसएमएले ले सन् २०३० सम्म सकिने करिब १,००० स्पेक्ट्रम लाइसेन्स नवीकरणलाई मूल्य नीति पुनरावलोकन गर्ने अवसरका रूपमा लिन आग्रह गरेको छ।

Skip This