वैदेशिक रोजगारीमा गएका ५८४ नेपालीको मृत्यु वा घाइते, परिवारलाई दिइयो ६६ करोड २१ लाख क्षतिपूर्ति

280
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा गएको बखत मृत्यु वा घाइते भएका नेपाली नागरिकको परिवारलाई ६६ करोड क्षतिपूर्ति वितरण गरिएको छ ।

वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०८०/०८१ मा वैदेशिक रोजगारीमा गएका मध्ये ५८४ जना मृतक वा घाइते नेपाली कामदारका परिवारलाई क्षतिपूर्ति स्वरूप ६६ करोड २१ लाख ५५ हजार रुपैयाँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा पठाएको छ । यो रकम विदेशस्थित रोजगार कम्पनी र बिमा कम्पनीबाट प्राप्त भएको हो । तर, मन्त्रालयले २१ लाख ७७ हजार रुपैयाँ दोहोर्याएर आम्दानी र खर्च लेखाङ्कन गरेको भूलले गर्दा वित्तीय विवरण र वास्तविक भुक्तानीमा अन्तर देखिएको महालेखा परीक्षकको ६२ औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अहिलेसम्म ३३ जनाका परिवारलाई ५ करोड ७९ हजार रुपैयाँ पठाउन बाँकी रहेको छ। साथै, भुक्तानी रकमलाई पुनः आम्दानीमा देखाएको कारण ४ लाख ८४ हजार रुपैयाँको मौज्दात फरक पर्न गएको विभागले बताएको छ। विभागले बाँकी रकम शीघ्र वितरण गर्ने र जिल्ला प्रशासन कार्यालयहरूबाट प्रतिवेदन मागी अनुगमन गर्ने तयारी गरेको छ।