
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा कारको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ६ बजे मर्निङवाकमा निस्किएका बुद्धभूमि–१, गोरुसिंगा निवासी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई कारले ठक्कर दिएको हो ।
इलाका प्रहरी कार्यालय गोरुसिंगाका अनुसार कपिलवस्तु र अर्घाखाँचीको सिमास्थित पत्थरकोटबाट गोरुसिंगातर्फ जाँदै गरेको बीएबी ९५९९ नम्बरको कारले वसन्तपुरमा ती महिलालाई ठक्कर दिएको थियो। गम्भीर घाइते दुबै जनाको उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती महिला हरेक बिहान साढे ४ बजे मर्निङवाकमा निस्कने गर्थे । दुर्घटना भएको गाडी विहानै कुलपूजाबाट फर्किरहेको थियो ।
दुर्घटनापछि प्रहरी नियन्त्रणमा लिएको कारका चालक रूपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठले ती महिलाहरू सडक पार गर्ने क्रममा बीचमा अलमलिएका र आफूले चलाएको कारको गती तेज भएका कारण ठक्कर भएको बताएको प्रहरीको भनाइ छ ।
हाल चालक र कार इलाका प्रहरी कार्यालय गोरुसिंगाको नियन्त्रणमा छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया