सहकारीको लगानी रहेको तुलसी मोटर्स कब्जा गरेर भैरहवामा लुम्बिनी मोटर्स स्थापना गरेका शशि पौडेल पछिल्ल्लो समय ‘राजनीतिक ब्रोकर’का रुपमा उदीयमान हुँदै छन् । नेतासँग सम्बन्ध बनाउन सिपालु पौडेलले कर्मचारीसँगको मिलेमतोमा कौडीको भाउमा सहकारीको लगानी रहेको उद्योग हत्याएर रजगज गरिरहेका छन् ।

काठमाडौं । मोरङको विराटनगरमा रहेको तुलसी बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका हजारौं बचतकर्ता विगत ३ वर्षदेखि आफ्नो निक्षेप फिर्ता पाउन आन्दोलनरत छन् । सहकारीका सञ्चालक केदारनाथ शर्मा सहकारी रकम अपचलनको आरोपमा हाल डिल्लीबजार कारागारमा छन् । तर उनी कारागरामै रहेको समयमा उनका पूर्वकर्मचारी र उनी निकटकाएक व्यापारीले सहकारीको करोडौं मूल्य लगानी भएको उद्योग कौडीको मूल्यमा हडपेका छन् ।
तुलसी सहकारीको लगानीमा स्थापना भएको तुलसी मोटर्स पम्प इन्ड्रस्ट्रिज उद्योग सुरुमा विराटनगरमा सञ्चालनमा थियो । जसले नेपालमै पहिलो पटक ‘शिखर मोटर्स’ ब्राण्डको पानी तान्ने मोटर पम्प उत्पादन गर्दै आएको थियो ।
यसका सञ्चालक शर्माले व्यापारी शशि पौडेलको भैरहवास्थित २ विगाहा जमिन भाडामा लिएर उद्योगका संरचनाहरू, उत्पादन सामग्रीहरू र स्टकमा रहेका तयारी पम्पहरूसहित उद्योगलाई स्थानान्तरण गरेका थिए ।
विराटनगरबाट भैरहवामा उद्योग स्थानान्तरण गरिए पनि उद्योग लामो समय सञ्चालनमा नआउँदै शिवशिखर र तुलसी सहकारीको बचत अपचलनको मुद्दामा शर्मा कारागार पुगेपछि तुलसी पम्पको उद्योग बन्द भयो ।
पम्प उद्योग बन्द भए पनि यसमा सहकारीको लगानी थियो । सरकारीको लगानी भएको उद्योग भएकोले तुलसी सहकारीले यो उद्योग र यसका सामानलाई सम्पत्ति मानिरहेको थियो । तर, यो उद्योगमा तुलसी मोटर्स पम्प इन्ड्रस्ट्रिजका तत्कालीन प्रवन्धक पदम न्यौपाने र भैरहवाका व्यापारी शशि पौडेलले चलखेल गरेको फेला परेको छ ।
क्लिकमान्डुलाई प्राप्त प्रमाणअनुसार, २०८० जेठ १८ गते तुलसी मोटर्सका तत्कालीन प्रवन्धक पदम न्यौपानेले उद्योगको सम्पूर्ण सामग्री व्यवसायी पौडेलको लुम्बिनी मोटर्स कम्पनीको नाममा बिक्री गरे । बिक्रेता कम्पनी तुलसी मोटर्स पम्प इन्ड्रस्ट्रिजबाट लुम्बिनी मोटर्सका नाममा बिल काटिएको छ । न्यौपाने र पौडेलको मिलेमतो देखिएको उक्त सामान किनबेचको बिलमा न त खरिदकर्ताको हस्ताक्षर नै छ, न त बिक्रेताको नै । बिलमा केवल छाप मात्र हानिएको छ । सो बिलमा बिक्री गरिएका सामानहरुको मूल्य उल्लेख गरिएको छ भने क्रेता र बिक्रेता को हुन भनेर हस्ताक्षरमा उल्लेख छैन् ।
सहकारीको लगानी रहेको यत्रो कम्पनी बिक्री गर्दा कुनै पनि कानूनी प्रक्रिया अवलम्बन गरिएको छैन । कम्पनीको सामानको मात्रै मूल्यांकन गरिएको छ । उद्योगको संरचना र त्यहाँ रहेका पम्प उत्पादन गर्ने मेसिनहरुको कुनै लेखाजोखा गरिएको छैन भने सहकारीको लगानीकै सामान कर्मचारी र व्यापारीबीचको मिलेमतोमा मूल्यांकन तथा सार्वजनिक सूचनाबिना कौडीको भाउमा सिंगो उद्योग नै बिक्री गरिएको हो ।
तुलसी मोटर्समा २०८० असार मसान्तसम्ममा ५ करोडको सामान मौज्दात रहेको समेत अडिट रिपोर्टले देखाएको छ । जसमा प्रायः तयारी अवस्थाका मोटर पम्प थिए । तर ती सम्पत्तिलाई केवल २ करोड ५१ लाख १६ हजार रुपैयाँमा बिक्री गरिएको बिल बिजकसहितको विवरण देखाउँछ ।
अझ गम्भीर कुरा के भने, आफू जुन उद्योगमा कार्यरत थिए र सामान बचे पदम सोही उद्योगमा प्रवन्धक बनेर जागिर खाना गएको देखिन्छ । न्यौपानेले तुलसी मोटर्समा रहेका बेला सामान किन्ने कम्पनी लुम्बिनी मोटर्समै रोजगार गरेको पाइएको छ । न्यौपाने आफैंले २ महिना अगाडि बेचेको कम्पनीमा उनी पुनः प्रवन्धकमा नियुक्ति लिएर गएका छन् ।
एउटा कम्पनीमा राजीनामा दिएर स्वइच्छाले आफू जागिर खान गएको न्यौपानेले क्लिकमान्डुसँग बताए । ‘मैले तुलसी मोटर्स छोडेपछि लुम्बिनी मोटर्समा जागिर खान गएको हुँ,’ उनले भने, ‘पछि तुलसी मोटर्सको सामान बदमासी गरेर सञ्चालकले किनेको थाहा पाएपछि काम छोडेको हुँ । यसमा मेरो संलग्नता छैन ।’
लुम्बlनी मोटर्सका पौडेलले भने केदारनाथ शर्मासँग पुरानो लेनदेन देखाउँदै आफूले उद्योगबाट लिएको सामानको भुक्तानी नगरेको बताए । ‘केदारनाथसँग बसेर हिसाबकिताब गर्नुपर्छ’, पौडेलले क्लिकमान्डुसँग भने , ‘उहाँले मसँग नगद सापटी लिनुभएको थियो, त्यसैको हिसाब मिलाएर सामानको भुक्तानी कटाएको हुँ ।’ तर, उनले साढे २ करोडको सामान लिए पनि त्यो मूल्य बराबरको सामग्री नभएको दाबी गर्दै उल्टै आफू ठगिएको बताए । ‘तुलसी मोटर्ससँग लिएको साढे २ करोडको सामान त १ करोड बराबरको पनि थिएन, ’ उनले भने ।






लुम्बिनी मोटर्स नामक कम्पनी व्यवसायी शशि पौडेलकी श्रीमती कमला पौडेलको नाममा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता छ । कानूनत कम्पनी दर्ता भएर मात्रै उद्योग सञ्चालन गर्न पाइँदैन । यसका लागि सम्बन्धित निकायको स्वीकृतिदेखि वातावरणीयण प्रभाव मूल्यांकन लगायतका थुप्रै प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ । तर पौडेलको कम्पनीले अहिले पूर्वसहकारीको संरचना र उपकरण प्रयोग गरेर लुम्बिनी मोटर्सका नाममा नयाँ पानी तान्ने पम्प उत्पादन गरेर बिक्री वितरण गरिरहेको छ ।
उनको उद्योगले न कुनै वातावरणीय प्रभाव मूल्यांकन गराएको छ न सरकारी स्वीकृति नै लिएको छ । व्यवसायी शशी पौडेलको भैरहवाको मनिग्राममा गाई फार्म छ । भैरहवामै उनको लुम्बिनी एग्रो एण्ड रिसर्च सेन्टर समेत रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्थ मन्त्री विष्णु पौडेलका विश्वासपात्रका रुपमा उच्च राजनीतिक पहुँच भएका व्यवसायी पौडेलले गैरकानुनी रूपमा लुम्बिनी मोटर्स सञ्चालन गरिरहेको स्रोतको दाबी छ ।







प्रतिक्रिया