महालेखाको ६२ औं प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

301
Shares

काठमाडौं । महालेखा परीक्षकको ६२ औं प्रतिवेदन सार्वजनिक भएको छ । बुधबार महालेखाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८०/८१को प्रतिवेदन हस्तान्तरण गरेसँगै सार्वजनिक भएको हो ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा संघीय, प्रदेश र स्थानीय तहका सरकारी निकाय, संगठित संस्था, समिति र अन्य संस्थासमेतको लेखापरीक्षण गरिएको छ।

५ हजार ७ सय ५९ ओटा निकाय कार्यालयहरुको लेखापरीक्षण गरिएको छ । त्यसमध्ये ३ हजार ७ सय २ कार्यालयको विस्तृत लेखापरीक्षण गरिएको थियो । यस अवधिमा कार्यालयको जनशक्ति र कानुन बमोजिम लेखापरीक्षक नियुक्त गरी ४३ वटा पूर्ण सरकारी स्वामित्व भएको, ४५ आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न भएको छ ।

नेपालको संविधान र लेखापरीक्षणको अधिकारभित्र रहेर ४२ वटा संगठित संस्थाहरुको ४७ आर्थिक वर्षको लेखापरीक्षण गरिएको महालेखाले जनाएको छ । उनले यो वर्ष ११ विषयमा कार्यमुलक, १ विषयमा सूचना प्रविधि, १ विषय वातावरणीय, २ विषयको लेखापरीक्षण गरिएको छ ।

यो वर्ष ५ हजार ७५९ कार्यालयको ९४ खर्ब ६२ अर्ब ३६ करोडको लेखापरीक्षण गरिएको छ । यसमध्ये संघीय मन्त्रालयतथा निकायतर्फ ३ हजार ९३ कार्यालयहरुको ३१ खर्ब ६ अर्ब १६ करोड, प्रदेश तथा निकायतर्फ १ हजार १ सय ६५ कार्यालयको ३ खर्ब ८ अर्ब ५६ करोड, स्थानीय तहतर्फ ७ सय ६१ को ११ खर्ब १८ अर्ब ४० करोड, समिति र अन्य संस्थातर्फ प्रदेशका समेत १ सय २५ गरी ६ सय ९५ संस्थाको ५ खर्ब २२ अर्ब १३ करोड, संगठित संस्थातर्फ ४३ संस्थाको ४४ खर्ब ७ अर्ब ४ करोड रहेको छ।

आर्थिक वर्ष २०८०/८१ मा लेखापरीक्षणबाट कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख कायम भएको छ ।

सोमध्ये संघीय सरकारका कार्यालयमध्ये ४७ अर्ब ७४ करोड ३० लाख, प्रदेश सरकारी कार्यालयको ४ अर्ब २० करोड, स्थानीय तहको २५ अर्ब ३२ करोड ४२ लाख, समिति र अन्य संस्थाको १४ अर्ब ३३ करोड ७ लाख बेरुजु रहेको छ ।

महालेखा परीक्षकको ६२ औं प्रतिवेदनमा अद्यावधी बेरुजुतर्फ संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तहतर्फ लेखापरीक्षणबाट औंल्याइएको अद्यावधि बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड देखिएको छ ।

यसमध्ये संघीय सरकारी कार्यालयहरुको ३ खर्ब ७५ अर्ब ४७ करोड, स्थानीय २ खर्ब ९ अर्ब २९ करोड, समिति र अन्य संस्थाहरुको १ खर्ब १७ अर्ब ९७ करोड रहेको छ ।

संघीय तथा प्रदेश सरकारी कार्यालय, स्थानीय तह, समिति र अन्य संस्थाहरुको बेरुजु अतिरिक्त कारबाही टुंगो लगाउनुपर्ने रकम अर्थात लेखापरीक्षण वक्यौता, राजश्व वक्यौता, लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण समयमै टुंगो लगाउनुपर्ने अद्यावधिक रकम ५ खर्ब ५१ अर्ब १ करोड देखिएको छ । बेरुजु संपरीक्षण यो वर्ष २८ अर्ब २९ करोड ४० लाख परीक्षण गरिएको छ । यो वर्षको लेखापरीक्षणबाट कुल १४ अर्ब ६८ करोड ४१ लाख असुल भएको जनाइएको छ ।

आर्थिक अनुशासन तथा वित्तीय उत्तरदायित्वमा जोड दिने सरकारको नीतिविपरीत बेरुजु बढेको बढ्यै छ ।

प्रचलित कानुन बमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले गरेको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ। उक्त परिभाषा अनुसार बेरुजु भनेको रूजु नभएको अंक हो ।