चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई बार्साले ४ गोलले हरायो, ४२ वर्षअघिको रेकर्डसँग बराबरी

1.1k
Shares

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले ऐतिहासिक पुनरागमन गर्दै चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई ४–३ ले पराजित गरेको छ । यस जितसँगै बार्सिलोना लिग उपाधि नजिक पुगेको छ ।

लुइस कम्पनी ओलम्पिक स्टेडियममा सम्पन्न रोमाञ्चक ‘क्लासिको’ मा रियल मड्रिडका किलियन एमबाप्पेले ह्याट्रिक गरे पनि टोली पराजित हुन पुग्यो । खेलको १४ मिनेटभित्रै एमबाप्पेले दुई गोल गर्दै मड्रिडलाई बलियो अग्रता दिलाएका थिए। तर बार्सिलोनाले पहिलो हाफमै चार गोल फर्काउँदै खेल आफ्नो पक्षमा पारेको थियो ।

बार्सिलोनाका एरिक गार्सिया, लामिन यामाल र राफिन्हाले (२ गोल) गोल गरे । एमबाप्पेले दोस्रो हाफमा ह्याट्रिक पूरा गरे पनि त्यसले रियल मड्रिडलाई हारबाट जोगाउन सकेन ।

जितसँगै बार्सिलोना तालिकामा मड्रिडभन्दा सात अंकले अगाडि रहँदै उपाधि नजिकिएको छ । अब तीन खेल बाँकी रहँदा बार्सिलोनाले बिहीबार एस्पान्योललाई हराएमा वा मड्रिडले मल्लोर्कासँग हार्दा उपाधि पक्का हुनेछ ।

खेलको सुरुवातमा मड्रिडले उत्कृष्ट प्रदर्शन गरेको थियो । एमबाप्पेले पेनाल्टीमार्फत पहिलो गोल गरे भने भिनिसियस जुनियरको पासमा दोस्रो गोल थपे । तर १९ औं मिनेटमा एरिक गार्सियाले कर्नरबाट हेडमार्फत गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए ।

त्यसपछि १७ वर्षीय लामिन यामालले ३० औं मिनेटमा सुन्दर प्रहार गर्दै बराबरी गोल गरे । दुई मिनेटपछि राफिन्हाले मड्रिडको रक्षापंक्ति त्रुटिको फाइदा उठाउँदै गोल गरे । पहिलो हाफको अन्त्यमा फेरान टोरेसको पासमा राफिन्हाले दोस्रो व्यक्तिगत गोल गर्दै बार्सिलोनालाई ४–२ को अग्रता दिलाए ।

दोस्रो हाफमा एमबाप्पेले ह्याट्रिक पूरा गरे भने बार्सिलोनाका फेर्मिन लोपेजको गोल भिएआरमार्फत रद्द भयो । खेलको अन्तिम समयमा दुबै टोलीले गोल गर्ने प्रयास गरे पनि अन्ततः बार्सिलोनाले ४–३ को जित निकाले ।

यो सिजन बार्सिलोनाले चार क्लासिको जित्दै १९८२–८३ मा बनाएको कीर्तिमान बराबरी गरेको छ । रियल मड्रिडले चार क्लासिकोमा १६ गोल खाँदै कमजोर प्रदर्शन गरेको छ ।

बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले पुरानै टिम उतारेका थिए । अन्तिम तीन खेलमा पनि यस्तै प्रदर्शन जारी राखे बार्सिलोना यस सिजनको लिग उपाधि जित्नेछ।