अत्यावश्यक लाइसेन्स छपाइ अनिश्चितकालका लागि बन्द

259
Shares

काठमाडौं । अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

यातायात व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै विभागको प्रिन्टिङ प्रणालीमा समस्या देखिएकाले वैशाख २५ गतेदेखि छपाइ प्रक्रिया रोकिएको जानकारी गराएको हो ।

विभागका अनुसार अध्ययन र रोजगारीका लागि विदेश जान लागेका नेपाली नागरिक, शान्ति मिसनमा खटिने नेपाली सेना तथा प्रहरीका सदस्यहरू र गैरआवासीय नेपाली नागरिकका लागि यो विशेष प्रकृतिको लाइसेन्स छपाइ हुँदै आएको थियो ।

‘विभागको प्रिन्टिङ प्रणालीमा समस्या देखिएकोले समाधान कार्य भइरहेको छ,’ सूचनामा उल्लेख छ, ‘अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक चालक अनुमतिपत्रको छपाइ कार्य स्थगित गरिएको छ।’

समस्या समाधान भएपछि मात्रै छपाइ कार्य पुनः सुरु गरिने विभागले स्पष्ट पारेको छ । तर समस्या कहिलेसम्म समाधान हुनेछ भन्नेबारे भने केही खुलाइएको छैन ।