
एजेन्सी । भारत सरकारले ‘द वायर डट इन’ वेबसाइटलाई देशभर ब्लक गरेको छ । द वायरले एक्स (पूर्व ट्वीटर) मा एक पोस्ट गर्दै लेखेको छ, ‘भारत सरकारले thewire.in वेबसाइटलाई देशभर ब्लक गरेको छ।’
द वायरका अनुसार, इन्टरनेट सेवा प्रदायकहरूले यो कदम सन् २००० को सूचना प्रविधि ऐन अन्तर्गत इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार गरिएको बताएका छन् ।
द वायरले यो कदम प्रेस स्वतन्त्रतासम्बन्धी संविधानमा सुनिश्चित अधिकारहरूको उल्लंघन भएको बताएको छ।
‘हामी यो ‘स्पष्ट सेन्सरसिप’ (प्रत्यक्ष सेन्सर गर्ने कार्य) को विरोध गर्छौं, विशेषगरी यस्तो समयमा जब निष्पक्ष, सत्य र तर्कसंगत पत्रकारिता भारतका लागि अत्यन्त आवश्यक छ,’ द वायरले भनेको छ।
‘हामी यो मनपरी र अस्पष्ट आदेशको विरुद्धमा सबै आवश्यक कानुनी कदम चालिरहेका छौं,’ द वायरको भनाइ छ।
प्रतिक्रिया