
काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा नेपालबाट सबैभन्दा बढी सोयाविन कच्चा तेल निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्मको अवधिमा नेपालबाट ६२ अर्ब रुपैयाँबराबरको ३० करोड किलो सोयाविन कच्चा तेल दक्षिणी छिमेकी मुलुक भारतमा निर्यात भएको हो ।
चालु आर्थिक वर्षको नौ महिनामा नेपालले अर्जेन्टिनाबाट ५० अर्ब ९८ करोड ९६ लाख रुपैयाँबराबरको ३३ करोड लिटर कच्चा सोयाविन तेल आयात गरेको थियो ।
अघिल्लो वर्षको नौ महिनाको अवधिमा भने नेपालबाट सबैभन्दा बढी ठूलो अलैंची निर्यात भएको थियो । त्यो बेला ६ अर्ब २८ करोड रुपैयाँको ४० लाख ७४ हजार किलो अलैंची भारतमा निर्यात भएको थियो ।
यस्तै यो अवधिमा नेपालले भारतमै ९ अर्ब २३ करोड रुपैयाँबराबरको ४ करोड १४ लाख लिटर सनफ्लावर कच्चा तेल पनि निर्यात गरेको छ ।
नेपालले यो अवधिमा युक्रेनबाट १७ अर्ब १७ करोड १६ लाख रुपैयाँबराबरको ११ करोड ८५ लाख लिटर सनफ्लावर तेल आयात गरेको थियो ।
अघिल्लो वर्षको नौ महिनाको अवधिमा दोश्रोमा सबैभन्दा बढी रोल्ड आइरन तथा स्टिल निर्यात भएको थियो । त्यो वेला ५ अर्ब १६ करोड ४० लाख रुपैयाँको ४ करोड ५ लाख किलो यस्तो स्टिल भारतमा निर्यात भएको थियो ।
नौं महिनाको अवधिमा तेश्रोमा सबैभन्दा बढी ठूलो अलैंचीको भारततर्फ निर्यात भएको छ । ठूलो अलैंची नेपालको मौलिक उत्पादन हो । यो अवधिमा नेपालबाट ६ अर्ब २५ करोड १२ लाख रुपैयाँबराबरको ३४ लाख ३७ हजार किलो ठूलो अलैंची निर्यात भएको छ ।
अघिल्लो वर्ष तेश्रोमा सबैभन्दा बढी रिफाइण्ड पाम आयल ५ अर्ब ७ करोड रुपैयाँको १२ करोड ४४ लाख ७२ हजार लिटर भारतमा निर्यात भएको थियो ।
यसपछि चौथो निर्यात हुने वस्तुमा कार्पेट निर्यात भएको छ । यो निर्यात भने अमेरिकामा भएको हो । ४ अर्ब ८९ करोड ४२ लाख रुपैयाँबराबरको २लाख ३७ हजार स्क्वाएर मिटर कार्पेट निर्यात भएको हो ।
गत वर्ष यहि अवधिमा चौथो नम्बरमा कार्पेट निर्यात भएको थियो । ४ अर्ब ६४ करोड रुपैयाँवराबरको १लाख ५१ हजार स्वाएयर मिटर अमेरिकामा निर्यात भएको थियो ।
तथ्याँकअनुसार पाँचौ निर्यात हुने वस्तुमा रोल्ड स्टिल तथा आइरन परेको छ । ४ अर्ब २३ करोड २१ लाख रुपैयाँको ३ करोड ७५ लाख ९७ हजार किलो रोल्ड स्टिल तथा आइरन भारतमा निर्यात भएको हो ।
यस्तै अघिल्लो वर्ष पाँचो सबैभन्दा बढी निर्यात हुने वस्तुमा मिक्चर जुस परेको थियो । त्यो वेला ४ अर्ब ४६ करोड ६५ लाख रुपैयाँबराबरको ४ करोड ९२ लाख ९० हजार लिटर यस्तो जुस भारतमा निर्यात भएको थियो ।
चालु आर्थिक वर्षमा गत वर्षको नौ महिनाको अवधिको तुलनामा ६५.१६ प्रतिशतले निर्यातको हिस्सा बढेको हो । चालु आर्थिक वर्षको नौं महिनामा नेपालले विभिन्न मुलुकमा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँको निर्यात गरेको छ
अघिल्लो वर्षको नौ महिनाको अवधिमा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँबराबरको नेपालबाट निर्यात भएको थियो ।
प्रतिक्रिया