
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको घटनाप्रति सभामुख देवराज घिमिरेले सरकारलाई भारतसँग उच्चस्तरीय कूटनीतिक संवाद अघि बढाउन निर्देशन दिएका छन् ।
सांसदहरूले प्रतिनिधि सभाको सोमबारको बैठकको आकस्मिक समयमा यो विषय उठाएपछि सभामुखले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रुलिङ गरेका हुन् । उनले साह झुन्डिएको अवस्थामा मृत फेला परेको घटनाले गम्भीर सवाल उठाएको बताए।
‘विदेशमा उज्यालो भविष्यको सपना लिएर अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरूको रहस्यमय मृत्युको क्रमले राष्ट्रिय संवेदनशीलता र राज्यको जिम्मेवारीमाथि प्रश्न उठाएको छ,’ सभामुख घिमिरेले भने।
घिमिरेले सरकारलाई घटनाको सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा वार्ता गर्न र मृतक परिवारलाई आवश्यक न्यायिक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् । साथै, उनले विदेशमा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।







प्रतिक्रिया