पेट्रोलमा बायो इथानोल मिसाउने सरकारको नीति

532
Shares

काठमाडौं । सरकारले पेट्रोलमा बायो इथानोल मिश्रणको नीति कार्यान्वयन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पेट्रालको खपत घटाउने र इन्जिनको पर्फमेन्स बढाउने तरिका अबलम्बन गरिने बताएका हुन् ।

पछिल्लो समय पेट्रोलमा वातावरणमैत्री इथानोल मिश्रणको बहस चलिरहेको छ । पेट्रोलमा इथानोल मिसाए पेट्रोलियम पदार्थको खपत कम गराउन सहयोग पु¥याउन सकिन्छ ।

२०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । त्यसयता बनेका इथानोल मिश्रण सम्बन्धी अध्ययन तथा सिफारिसले पनि सोही नीतिलाई अघि सारेको छ ।

राष्ट्रपति पौडेलले सोही नीति कार्यान्वयन गर्ने घोषणा गरेका हुन् ।

इथानोल बर्निङ पावरयुक्त तत्व हो । इथानोल मिसाए पेट्रोलियम पदार्थको खपत कम हुन्छ भने विदेशी मुद्राको बचत हुन्छ । इथानोलले इन्जिनबाट हुने उत्सर्जन कम गराइ प्रदुषण घटाउँछ ।

भारत र चीनले समेत पेट्रोलियम पदार्थमा १५ देखि ३० प्रतिशतसम्म इथानोल प्रयोगलाई कार्यान्वयन गर्ने नीति बनाएकोमा नेपालले १० प्रतिशतलाई सहजै मिश्रण गर्न सक्छ । तत् तत् देशका नीतिगत व्यवस्थाअनुसार अमेरिकामा १० प्रतिशत, ब्राजितलमा २७ प्रतिशत, इन्डियामा १५ प्रतिशत र चीनमा १० प्रतिशत इथानोल पेट्रोलमा मिसाउन मिल्छ ।

भारतले सन् २०३० सम्ममा इथानोलको प्रयोग कम्तीमा ३० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । जसका लागि भारत सरकारले इथानोल उत्पादन र ढुवानीका लागि निःशुल्क व्यवस्था गरेको छ ।

इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्नेछ । इथानोल उत्पादनमा धेरै उद्योगहरु तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिनेछ ।