मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ: पूर्वराष्ट्रपति भण्डारी

0
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताएकी छन् ।

राष्ट्रिय समाचार समिति (रासस)द्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै प्रथम राष्ट्रपति भण्डारीले भनिन् , ‘मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ ।’

सरकार सञ्चालनमा रहेका पार्टी थोरै दलमा केन्द्रित भए कि भन्ने कुरा आउन थालेको प्रसङ्ग उल्लेख गर्दै उनले व्यक्तिको आकांक्षा र महत्वाकांक्षाभन्दा राष्ट्रिय आकांक्षा के हो भन्नेतर्फ सबैको ध्यान जानुपर्ने बताइन् ।

‘दलीय व्यवस्थामा राजनीतिक दल धेरै हुनु स्वाभाविक हो, तर कुनै पनि दलको स्पष्ट बहुमत नआउने/नहुने, सरकार छिटो परिवर्तन भइरहने तथा सत्ता र शक्तिका लागि साना दलले ‘बार्गेनिङ’ गर्ने अवस्थामा सुधार गर्न राष्ट्रिय सहमतिसहितको दिगो कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।’

सरकारले जिम्मेवारी बोधका साथ दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यक्रम ल्याउने प्रक्रिया सुरु गरेको प्रसङ्ग उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले जनताका बढ्दो माग र सुविधालाई सम्बोधन गर्ने क्रममा पछिल्ला दिनमा भइरहेको तीव्र बसाइँसराइलगायत कारण आउनसक्ने चुनौतीकाबारे अब सोच्नुपर्ने बेला आएको बताइन् ।

‘राज्यको महत्वपूर्ण क्षेत्रको नेतृत्व गरिरहँदा राजनीतिक दललाई पनि त्यही नै सुझाव दिने हो । विकासको परिभाषामा पनि हामीले समय अनुकूल सोच्नु पर्नेछ । अहिलेको नयाँ पुस्ता अलि तीव्रगतिमा विकास चाहन्छ । पहिलाको जस्तो अवस्था छैन, त्यसतर्फ पनि जिम्मेवार पक्षको ध्यान जान आवश्यक छ,’ उनले भनिन् ।

मुलुकमा राजनीतिक स्थिरता नहुनमा निर्वाचन प्रणालीको दोष नरहेको बताउँदै उनले भनिन्, ‘यो व्यक्ति विशेषका मनको कुरामात्रै हो । धेरै पार्टीले जिते, त्यसमा के बिग्रियो त ? जसले जिते पनि नेपाली नै जित्ने हो । पाँच वर्षसम्म दलले मिलेर गएपनि हुन्छ नी ।’