कोशी प्रदेश लगानी सम्मेलन: सोकेसमा ग्रिन हाइड्रोजनमा आधारित ३२ अर्ब लगानीको युरिया मल कारखाना

889
Shares

काठमाडौं । कोशी प्रदेशमा आजदेखि सुरु भएको लगानी सम्मेलनमा ग्रिन हाइड्रोजनमा आधारित युरिया मल कारखानाको परियोजना पनि सोकेसमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका छन्।

काठमाडौं विश्वविद्यालयले तयार पारेको यो परियोजना लगानी सम्मेलनको सोकेसमा परेको हो ।

काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. विराज थापाका अनुसार यो परियोजनाको कूल लगानी ३२ अर्ब रुपैयाँ छ ।

उक्त विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्यावको टिम लिडरसमेत रहेका थापाका अनुसार यो परियोजना नेपालको कृषि, उर्जा र औद्योगिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन ठूलो सहयोग गर्ने जानकारी दिए ।
उनका अनुसार यो परियोजना सार्वजनिक निजी साझेदारी(पीपीपी) अवधारणाअन्तर्गत सञ्चालनमा ल्याउन सकिनेछ ।

जलविद्युतबाट उत्पादित ग्रिन हाइड्रोजन र सिमेन्ट उद्योगबाट उत्सर्जन हुने कार्वन डाइअक्साइड प्रयोग गरी युरिया रासायनिक मल उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सोकेसमा राखिएको यो परियोजनाले लगानी पाएर मूर्त रुप लिएपछि दैनिक ६५० मेट्रिक टन युरिया मल उत्पादन गर्न सकिनेछ भने वार्षिक रुपमा २ लाख मेट्रिक टन युरिया मल उत्पादन गर्न सकिनेछ ।

यो मल उत्पादन गर्न ४०१.८ मेगावाट बिजुली आवश्यक पर्नेछ । कारखाना स्थापना गर्न कम्तिमा १ हजार वर्गमिटर क्षेत्रफल भएको जमिन आवश्यक पर्नेछ ।

नेपालमा वार्षिक ८ लाख मेट्रिक टन रासायनिक मलको माग भएपनि अधिकतम ५ लाख मेट्रिक टनसम्म मात्रै आपूर्ति भइरहेको छ । त्यो पनि आवश्यक परेको समयमा रासायनिक मल उपलब्ध नहुँदा किसानले बर्षेनी चर्को अभावको समस्या व्यहोर्न बाध्य हुन्छन् ।

पछिल्लो समयमा लगानी बोर्डले रासायनिक मल कारखानाको बिषयमा गरेको विस्तृत सम्भाव्यता अध्ययनअनुसार नेपालमा वार्षिक रुपमा युरिया मलको माग ७ लाख मेट्रिक टन छ ।

नेपालले पछिल्लो १० वर्षमा युरिया मलको अनुदानमा झण्डै ५७७.३७ मिलियन अमेरिकी डलर खर्च गरेको छ । खर्चिएको यो रकम इलेक्ट्रोलाइसिस प्रविधिमा आधारित युरिया मल प्लान्ट स्थापना गर्न आवश्यक कूल लगानी १३०५ मिलियन डलरको करिब आधा हिस्सा हो ।