सत्तारूढ गठबन्धनको छलफल सकियो, के भयो निर्णय ?

1.9k
Shares

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमबारे छलफल गरिएको छ।

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीका अनुसार बैठकमा सहभागी नेताहरूले अर्थतन्त्रलाई पुनः लयमा ल्याउने गरी नीतिगत रूपान्तरण हुने खालका कार्यक्रम ल्याउन सुझाव दिएका छन् । ‘विगतको तुलनामा मेजर ब्रेकथ्रु हुने गरी नीति तथा कार्यक्रम आउनुपर्छ भन्ने साझा धारणा रहेको छ,’ उनले भने।

बैठकमा पहाडी क्षेत्रमा रोजगारी सिर्जना, कृषि तथा पशुपालनको प्रवर्द्धन, बसाइँसराइ न्यूनीकरणजस्ता विषयलाई प्राथमिकतामा राख्न सुझाव आएको ज्ञवालीले बताए ।
लोकतन्त्रको सुदृढीकरण र त्यसमाथि भइरहेका आक्रमणको सामूहिक प्रतिकारबारे पनि छलफल भएको उनले जानकारी दिए।

युवा पुस्तामा आशा र विश्वास जगाउने उद्देश्यले उद्यमशीलता, सिप विकास, स्टार्टअप, व्यावसायिक प्लान्ट स्थापना र बजार संरक्षणसम्बन्धी समग्र योजना ल्याउने प्रस्ताव पनि बैठकमा उठेको उनले बताए।

सरकारी खर्च क्षमताको अभिवृद्धि, अनावश्यक संरचना र फजुल खर्चको कटौती, कार्य दक्षता वृद्धिलगायतका विषयमा पनि बैठकमा गम्भीर छलफल भएको जनाइएको छ। आयोजनाहरू छरिएको अवस्थामा स्रोतको अपव्यय भइरहेको भन्दै तिनलाई प्राथमिकता अनुसार वर्गीकरण गर्नुपर्ने सुझाव पनि उठेको थियो।

वाह्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत बैठकमा विचारविमर्श भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन्।