
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै डाँडामा बसेर लाखौँ कमाउने सपना सम्भव भएको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकास सम्बन्धी कांग्रेसको नीतिगत सुझाव प्रतिवेदन बुझ्दै उनले आफूले कीर्तिपुरको डाँडा बसेर महिनामा दुई–तीन लाख कमाउन सकिने कुरा गर्दा त्यसलाई रमाइलो बनाइएको बताए । थापाले कुनै डाँडामा बसेर लाखौँ कमाउने विषय कल्पना र सपना रहेको बताउँदै त्यो सम्भव हुने आधार भएको जिकिर गरे ।
महामन्त्री थापाले हरेक व्यक्तिलाई सीप र क्षमता दिएको खण्डमा उक्त सीप र क्षमताले लाखौँ कमाउने सपना पूरा हुने बताए ।
‘मैले कीर्तिपुरको डाँडा भनिसकेपछि तपाईंहरू सबैलाई एउटा प्रसङ्ग याद आउँछ । त्यो प्रसङ्ग कोट्याएको दिनको म छोटकरीमा सम्झन्छु, एउटा डाँडामा बसेर दुई–तीन लाख कमाउन सकिन्छ भन्ने मेरो इमाजिनेशनको कुरा मैले गरेँ, कतिलाई रमाइलो कुरा पनि भयो,’ थापाले भने, ‘ तर, त्यो इमाजिनेशन हो, त्यो ड्रिम हो , सम्भव छ । सम्भव केले छ भन्दा, एउटा व्यक्तिलाई हातमा स्किल र क्षमता दियो भने त्यो स्किल र क्षमताले सम्भव छ ।’
विश्व अहिले ज्ञान अर्थतन्त्रमा रहेको उल्लेख गर्दै उनले चीनमा जन्मिएका एक व्यक्तिले डिपसिक बनाएर सिलिकन भ्यालीले अनुमोदन नगर्दा पनि एआईमा च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने ठाउँमा पुगेको बताए । उनले ज्ञानले अर्थतन्त्रमा हरेक सम्भावनाको नेटवर्क खुलेको बताए ।
उनले ज्ञान अर्थतन्त्रमा लाखौँलाई नयाँ अवसर आउने बताउँदै विपन्न समुदाय उक्त अवसरबाट वञ्चित हुन नहुने बताए ।
प्रतिक्रिया