
काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेजले ९ महिनामा १४ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले चालु आवको चैत मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा तेब्बर बढी नाफा कमाएको हो ।
कम्पनीले ९ महिनामा १४ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीले आर्जन गरेको खुद फि एन्ड कमिसन आम्दानीले खर्च धानेपछि कम्पनीले खुद ब्याज आम्दानी बराबर नै नाफा गरेको हो ।
गत आवको ९ महिनामा कम्पनीले ५ करोड २ लाख रुपैयाँमात्र नाफा गरेको थियो । चालु आवमा भने खुद ब्याज आम्दानी ४ करोडले बढेको छ भने खुद फि एन्ड कमिसन आम्दानी करिब दोब्बर अर्थात् ३२ करोड २६ लाख रुपैयाँ कायम भएको हो । खर्च सामान्य दरले बढे तापनि नाफा भने तेब्बर भएको हो ।
हुलास फिनसर्भले १ वर्षको अवधिमा करिब दोब्बर अर्थात् ६ अर्ब ४४ करोड रुपैयाँको कर्जा दिएको छ । यो लगानी गत वर्षको चैतभन्दा २.३ गुणा बढी हो ।
एक वर्षको अवधिमा कम्पनीले लिएको सापटी १ अर्ब ६९ करोडबाट ४ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।
नाफा तेब्बर बन्दा हुलास फिनसर्भ हायर एन्ड पर्चेजको प्रतिसेयर आम्दानी २३.४५ रुपैयाँ र नेटवर्थ १७१.१९ रुपैयाँ कायम भएको छ ।
यसैगरी निष्क्रिय कर्जा ८.०२ प्रतिशतबाट घटेर ४.२२ प्रतिशत कायम भएको छ ।
हुलास फिनसर्भ हायर पर्चेजले चाँडै नै साधारण सेयर (आईपीओ) निष्काशन गर्दैछ ।
कम्पनीले बुक बिल्डिङमार्फत् २० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्दैछ । जसमध्ये ४० प्रतिशतमा योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशतमा सर्वसाधरणको लगानी रहनेछ । सेयर निष्काशनका लागि कम्पनीले गत असोजमै एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हुलास फिनसर्भका अध्यक्ष शेखर गोल्छा हुन् । सञ्चालकमा सीमा गोल्छा, अभिमन्यु गोल्छा, श्रेया गिरी र अमिताभ अग्रवाल सञ्चालक हुन् ।
हुलास फिनसर्भ हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ वित्तीय संस्था हो । कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।
गोल्छा ग्रुप अन्तर्गतको यो कम्पनी ग्राहकहरूलाई ‘इन्स्टा फाइनान्स’ सेवा प्रदान गर्नेमा विशेषज्ञ रहेको छ । ८० करोड रुपैयाँ पुँजी रहेको कम्पनीले १ लाखभन्दा बढी सवारी साधनमा फाइनान्स गरिसकेको छ ।
उपभोक्ता फाइनान्सिङ सेवाहरू दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे सवारी, मोबाइल फोन, उपभोक्ता इलेक्ट्रोनिक्स, ल्यापटप र फर्निचरमा उपलब्ध छन् । २०० भन्दा बढी कर्मचारीहरू र ६०० भन्दा बढी व्यापारिक साझेदारले कम्पनीलाई थप मजबुद बनाएको छ । प्रतिस्पर्धात्मक ब्याजदर र नविनतम किस्ता सुविधाहरूमार्फत ग्राहकहरूको खरिद प्रक्रियालाई सजिलो बनाउने प्रतिबद्धता हुलासले गरेको छ ।
पछिल्लो समय गोल्छा ग्रुपले बिक्रीवितरण गर्दै आएको सामसङ स्मार्टफोन, घरायसी सामाग्री तथा पल्सरलगायत सवारीसाधान खरिद किस्तामा गर्न सकिन्छ । सो सेवाको फाइनान्सिङ हुलास फिनसर्भबाट हुने गरेको छ ।
सन् २०१२ मा स्थापित हुलास इन्भेस्टमेन्ट कम्पनीको नाम सन् २०२१ मा हुलास फिनसर्भ बनेको थियो भने सन् २०२३ नोभेम्बरदेखि कम्पनीको नाम हुलास फिनसर्भ हायर पर्चेज भएको हो ।
कम्पनीमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको ८५ प्रतिशत सेयर छ भने बाँकी १५ प्रतिशतमा हुलास अटोक्राफ्ट, हिम इलेक्ट्रोनिक्स लगायत ६ जनाको स्वामित्व छ । एचएच एन्ड कम्पनी नेपालमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हो ।
कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा हुन् ।
प्रतिक्रिया