चित्रबहादुर केसीको प्रश्नः आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरुले जनतालाई कसरी सम्झाउनुहुन्छ ?

147
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यसत्तामा रहेकाहरुको कमजोरीकै कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै अध्यक्ष केसीले सत्तामा गएकाहरुले अप्ठ्यारो परेको बेला सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण व्यवस्थामाति खतरा बढेको बताए ।

उनले लोकतन्त्र र गणतन्त्रमाथि भइरहेको व्यापक हमलाको समाधान सबै दलहरु मिलेर गर्नुपर्ने समेत बताए । उनले सत्तामा बसेकाहरु नै भ्रष्टाचारमा लिप्त र व्यवस्थाविरोधी काम गरिरहे जनतालाई सम्झाउन नसकिने उनको भनाइ छ ।

उनले भने, ‘सत्ता र शक्तिमा गएकाले जब अप्ठ्यारो पर्छ सम्झौता गर्ने, सम्झौतालाई कार्यान्वयन नै नगरिदिने । ०४६ सालको कुरा भन्नुस्, २०६२/०६३ सालको कुरा भन्नुस् । अहिले पनि हजारौं शिक्षकहरु सडकमा छन् । चारैतिरबाट जुन लोकतन्त्र र गणतन्त्रमाथि व्यापक हमला भइरहेको छ यसमा हामी सबै मिलेर समाधान गर्ने हो । हामी आफूले भ्रष्टाचार गरेका छौं, लोकतन्त्र र गणतन्त्रविरोधी आचरण गरिराखेका छौं भने जनताई कसरी तपाईहरुले सम्झाउन सक्नुहुन्छ ? आफ्नो साथमा भएकाहरुले भ्रष्टाचार गरेपनि लुटेपनि केही नहुने त्यसभन्दा बाहिरकालाई कारबाही हुने कुरा त जनताले हेरिराखेको छ नि ।’

उनले अहिले पनि कतिपय जिल्लामा २० रुपैयाँ तिरेर बाँसको पुल तर्नुपर्ने बाध्यतामा जनता रहेको बताए । उनले त्यही हो तपाईहरुले संघीयता ल्याएर स्विट्जल्याण्ड बनाएको नेपाल ? भन्दै प्रश्न समेत गरे।