
काठमाडौं । सरकार परिवर्तनको चर्चाकाबीच सबैभन्दा ठूलो सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरेका छन् ।
वैशाख ७ गते स्वास्थ्य उपचारका लागि देउवा थाइल्यान्डको राजधानी बैंकक जानु अघि उनले प्रचण्डलाई फोन गरेका थिए ।
उनको यो सम्पर्कलाई हाल भइरहेको सत्ता समीकरणको चर्चा र विश्लेषणसँग जोडेर हेरिएको छ।
सिंहदरबारमा बिहीबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले देउवाको फोनबारे आफ्ना सांसदहरूलाई जानकारी गराएको एक सांसदले जानकारी दिए ।
‘थाइल्यान्ड जानुअघि उहाँले मलाई फोन गर्नुभएको थियो । सो क्रममा हामीबीच शुभकामना आदानप्रदान भयो । फर्किएपछि भेटेर थप छलफल गर्ने सहमति पनि भएको छ,’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
वर्तमान केपी शर्मा ओली नेतृत्वको सत्ता समीकरण लामो समय नटिक्ने पनि प्रचणडको भनाइ थियो ।
नयाँ सत्ता समीकरणको सम्भावनाबारे उनले संकेत गरेका थिए । देउवा स्वास्थ्य उपचार गरेर फर्किएपछि नयाँ सत्ता समीकरणका विषयमा छलफल हुने उनको ब्रिफिङ थियो
‘वेइटिङ प्रधानमन्त्री शेरबहादुर देउवा हाल देशबाहिर हुनुहुन्छ । उहाँ फर्किएपछि सत्ता समीकरणको विषयमा गम्भीर छलफल हुनेछ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती सांसदले बताए।
प्रतिक्रिया