फेड अध्यक्षबारे ट्रम्पको पछिल्लो भनाइले डलरलाई सघायो

119
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पाउवेललाई हटाउने धम्की फिर्ता लिएपछि र चीनमाथिको भन्सार शुल्कबारे नरम संकेत दिएपछि डलरको मूल्य अघिल्लो तीव्र उकालोपछि बिहीबार स्थिर भएको छ ।

मंगलबार १ सय ४० येनभन्दा तल झरेको डलर प्रमुख प्रवृत्ति समर्थन बिन्दुबाट फर्किएर बिहीबार १ सय ४२ दशमलव ७५ येनमा कारोबारमा देखिएको रोयटर्सले जनाएको छ । अमेरिकी वित्त सचिव स्कट बेसन्टको भनाइले यो सुधारलाई थप बल दिएको हो । उनले जापानी समकक्षीसँगको भेटअघि अमेरिका कुनै निश्चित विनिमय दर लक्ष्यमा केन्द्रित नरहेको बताएका थिए ।

बेसन्टले हाल चीनसँगको व्यापारमा अमेरिकी प्रतिबन्ध दीर्घकालीन हुन नसक्ने जनाउँदै अमेरिकाले १ सय प्रतिशतभन्दा बढी भन्सार शुल्क पहिले घटाउने पक्षमा नभएको स्पष्ट पारे।

युरोप्रति डलरको मूल्य पनि सुधारिएको छ । केही दिनअघि ३ वर्षभन्दा लामो अवधिको न्यूनतम बिन्दु एक डलर १५ दशमलव ७२ सेन्टमा झरेको डलर बिहीबार बिहान एसियाली बजारमा एक डलर १३ दशमलव ३८ सेन्टमा कारोबार भइरहेको छ ।

आईएनजी बैंकका मुद्रा विश्लेषक फ्रान्चेस्को पेसोले भने, ‘डलर अन्य मुद्राको तुलनामा व्यापारसम्बन्धी समाचारको असरमा धेरै चलायमान देखिन्छ । निकट भविष्यमै डलरमाथि जोखिम ओरालो हुने देखिन्छ, तर पछिल्लो समयजस्तै तीव्र डलर बिक्री दोहोरिने सम्भावना भने कम छ ।’

उनका अनुसार युरो/डलर विनिमय दर अझै पनि डलरकै चालमा निर्भर रहेकोले फेडको स्वतन्त्रताबारे पुनः प्रश्न उठेमा युरोले एक डलर १५ सेन्ट पार गर्न सक्नेछ ।

अस्ट्रेलियन र न्युजिल्याण्ड डलर पनि कमजोर

यसैबीच, अस्ट्रेलियन डलर ६३ दशमलव ५५ सेन्टमा कारोबार भइरहेको छ । विश्लेषक जो कपुरसोका अनुसार यो दर अझै ५० दिने औसत ६२ दशमलव ८६ सेन्टतर्फ ओरालो लाग्न सक्छ। न्युजिल्याण्ड डलर ५९ दशमलव ५१ सेन्टमा स्थिर छ।

बेलायती पाउन्ड एक डलर ३२ सेन्ट र स्विस फ्राङ्क प्रति डलर ८२ दशमलव ९० सेन्टमा स्थिर रहेका छन् । चीनको युआन भने डलरसँगको तुलनामा थोरै कमजोर हुँदै ७ दशमलव २९८० मा कारोबार भइरहेको छ।

बिटक्वाइन उकालो, ट्रम्पको ‘मिम कोइन’ मा हलचल

क्रिप्टो बजारतर्फ हेर्दा, बिटक्वाइनको मूल्य अमेरिकी सेयर बजारको चालसँगै उकालो लाग्दै एसियाली कारोबार अवधिमा ९२ हजार ७३२ डलर पुगेको छ।

यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा आधारित क्रिप्टो मुद्रामा रातारात तीव्र वृद्धि देखिएको छ । यसको कारण राष्ट्रपति ट्रम्पसँग विशेष डिनरमा सहभागी हुने अवसर प्रदान गर्ने घोषणा हो, जुन डिनर $TRUMP खरिद गर्ने शीर्ष २२० व्यक्तिका लागि आयोजना गरिने बताइएको छ ।