
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा प्रभु बैंकले १ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । आवको तेस्रो त्रैमाससम्म बैंकको नाफा ३.५१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ८१ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले प्रकाशन गरेको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंक कर्जा खासै बढ्न सकेको छैन भने स्प्रेड दर पनि केही घट्दा खुद ब्याज आम्दानी १ अर्ब भन्दा धेरैले घटेको हो । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी र नेट ट्रेडिङ आम्दानीमा वृद्धि भए पनि खुद ब्याज आम्दानी घट्दा बैंकको कुल सञ्चालन आम्दानी घटेको छ । तर, बैंकको निष्कृय कर्जा बढे पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम घटेको छ । जसले बैंकको नाफा सामान्य बढेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकको कर्जा २ अर्बले मात्रै बढेको छ । २०८१ असार मसान्तमा २ खर्ब २१ अर्ब ४ करोड ५६ लाख रहेको बैंकको कर्जा चैत मसान्तमा आउँदा २ खर्ब २३ अर्ब ३४ करोड २१ लाख पुगेको छ । बैंकको निक्षेप भने १५ अर्बभन्दा धेरैले बढेको हो । गत असार मसान्तमा ३ खर्ब ५ अर्ब १ करोड २८ लाख ५२ हजार रहेकोमा चैत मसान्तमा ३ खर्ब २० अर्ब ५२ करोड ५ लाख पुगेको छ ।
कर्जा बढाउन नसकेको बैंकको स्प्रेड दर घटेको कारण खुद ब्याज आम्दानी घटेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३.९६ प्रतिशत रहेको बैंकको स्प्रेड दर चालु आवको तेस्रो त्रैमासमा ३.९० प्रतिशतमा झरेको हो । जसले बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ भन्दा धेरैले घटेको छ । गत आवको तेस्रो त्रैमासमा ८ अर्ब ४३ करोड ९७ अर्ब रहेको बैंको खुद ब्याज आम्दानी चालु आवको तेस्रो त्रैमासमा ७ अर्ब ८ करोड ५७ लाखमा सिमित भएको छ । यस्तै खुद फि तथा कमीसन आम्दानी १ अर्ब ३३ करोड ८५ लाखबाट बढेर १ अर्ब ६५ करोड ३० लाख पुगेको हो ।
बैंकको नेट ट्रेडिङ आम्दानी २७ करोड ४३ लाखबाट बढेर ४१ करोड ७४ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी १३ करोड ८९ लाख रुपैयाँबाट बढेर ४६ करोड ६७ रुपैयाँ पुुगेपनि कुल सञ्चालन आम्दानी भने १० अर्ब १९ करोड १४ लाख रुपैयाँबाट घटेर ९ अर्ब ६१ करोड ९० लाखमा घटेको हो ।
निष्क्रिय कर्जा बढेसँगै बैंकले चैत मसान्तसम्म सम्भावित कर्जा नोक्सानीको लागि १ अर्ब २३ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । गत आवको यस अवधिमा बैंकले सम्भावित कर्जा नोक्सानीको लागि १ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ छुट्याएको थियो । आम्दानी घटे पनि र कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम घट्दा बैंकको नाफामा वृद्धि भएको हो । चैत मसान्तमा बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड २८ लाखबाट घटेर ३ अर्ब ४३ करोड ५३ लाख रुपैयाँमा झरेको हो । गत वर्षको तेस्रो त्रैमासमा बैंकको २० करोड ४९ लाख रुपैयाँ गैर सञ्चालन खर्च रहेको बैंकको चालु आवमा त्स्तो खर्च नहुँदा सामान्य नाफा बढेको देखिन्छ ।
बैंकको सञ्चित नोक्सानी भने बढ्दै गएको छ । चालु आवको तेस्रो त्रैमाससम्म ३७ करोड ६६ लाख वितरणयोग्य नोक्सानीमा रहेको बैंक गत आर्थिक वर्षका ३ अर्ब २ करोड ५५ लाख सञ्चित नोक्सानीले बैंकको कुल सञ्चित नोक्सानी ३ अर्ब ४० करोड २३ लाख रुपैयाँ पुगेको छ ।
बैंकक चुक्ता पूँजी २३ अर्ब ५४ करोड २५ लाख रुपैयाँ छ । बैंकको जगेडाकोषमा १४ अर्ब ५३ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
नाफा सामान्य बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसाबाट बढेर १० रुपैयाँ ६३ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात १९.५२ गुणा छ । चैत मसान्तमा बैंकको प्राथमिक पूँजीकोष अनुपात ८.६७ प्रतिशत सहित पुँजीकोष अनुपात १२.८४ प्रतिशत छ । त्यस्तै निष्क्रिय कर्जा अनुपात ४.८१ प्रतिशतबाट बढेर ५.०९ प्रतिशतमा पुगेको छ । सीडी रेसियो ७३.३३ प्रतिशत र तेस्रो त्रैमासको औसत आधारदर ६.८२ प्रतिशत छ ।
प्रतिक्रिया