कर्जा बढाएसँगै एभरेष्ट बैंकको नाफामा ३२ प्रतिशतको वृद्धि, निष्कृय कर्जा घट्दा सबै सुचकमा सुधार

4.3k
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा एभरेष्ट बैंकको नाफा बढेर ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । चालु आवको तेस्रो त्रैमाससम्म बैंकको नाफा ३२.५५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा २ अर्ब ६० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कर्जा विस्तारसँगै बढेको बढेको खुद ब्याजदर आम्दानी, शुल्क तथा कमीसन आम्दानी र नेट ट्रेडिङ आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । तर, बैंकको निष्कृय कर्जा घटेसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम घटेको छ । जसले बैंकको नाफासँगै सबै वित्तीय सुचकमा उल्लेख्य सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नै बैंकको कर्जा २१.३० प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा १ खर्ब ७८ अर्ब २१ करोड ५४ लाख रहेको बैंकको कर्जा चैत मसान्तमा आउँदा २ खर्ब १६ अर्ब १७ करोड ४० लाख पुगेको छ । यस अवधिमा बैंकको कर्जा ३७ अर्ब ९६ करोडले बढेको हो । बैंकको कर्जा मात्रै नभएर निक्षेप पनि १४.६९ प्रतिशत अर्थात् ३४ अर्ब १२ करोडले बढेर २ खर्ब ६६ अर्ब ४४ करोड पुगेको छ ।

निक्षेपको तुलनामा कर्जा विस्तार धेरै रहेको र उल्लेख्य कर्जा विस्तारले बैंकको खुद ब्याज आम्दानी १ अर्ब भन्दा धेरैले वृद्धि भएको छ । गत आवको चैत मसान्तमा ५ अर्ब ६३ करोड ३१ लाख रहेको बैंकको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको चैतमा आउँदा बढेर ६ र्ब ७४ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस्तै खुद फि तथा कमिसन आम्दानी ९७ करोड ८० लाखबाट बढेर १ अर्ब ९ करोड ६४ लाख पुगेको हो ।

बैंकको नेट ट्रेडिङ आम्दानी २५ करोड ४५ लाखबाट बढेर ३८ करोड ९६ लाख रुपैयाँ पुगेसँगै कुल सञ्चालन आम्दानी ६ अर्ब ९२ करोड ७४ लाख रुपैयाँबाट बढेर ८ अर्ब १७ करोड ६९ लाख पुगेको छ ।

यता निष्कृय कर्जा घटाएको बैंकले चैत मसान्तसम्म सम्भावित कर्जा नोक्सानीको लागि २७ करोड २९ लाख रुपैयाँ छुट्याएको छ । गत आवको यस अवधिमा बैंकले सम्भावित कर्जा नोक्सानीको लागि ६३ करोड ७२ लाख रुपैयाँ छुट्याएको थियो । आम्दानी बढेको र कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम घट्दा बैंकको नाफामा उल्लेख्य वृद्धि भएको हो । चैत मसान्तमा बैंकको सञ्चालन नाफा ३ अर्ब ७२ करोड ६५ लाखबाट बढेर ५ अर्ब ८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको वितरणयोग्य नाफा पनि उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म मात्रै २ अर्ब २० करोड ४० लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको बैंकको गत आर्थिक वर्षको लाभांश वितरणपछिको सञ्चित नाफा समेत गर्दा ३ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिएर चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ पुर्याएको बैंकको वार्षिक लाभांश वितरण क्षमता ३४.०९ प्रतिशत छ । बैंकको जगेडा कोषमा १३ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

बोनसले पूँजी बढाउँदा पनि बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५५ पैसाबाट बढेर ३५ रुपैयाँ ६१ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात १२.०२ गुणा छ । चैत मसान्तमा बैंकको प्राथमिक पूँजीकोष अनुपात ९.८१ प्रतिशत सहित पूँजीकोष अनुपात १२.६७ प्रतिशत छ । त्यस्तै निष्कृय कर्जा अनुपात ०.७० प्रतिशतबाट घटेर ०.६४ प्रतिशतमा झरेको छ । सीडी रेसियो ८४.०७ प्रतिशत र तेस्रो त्रैमासको औसत आधारदर ५.४५ प्रतिशत छ ।