
काठमाडौं । हिमालयन बैंकले चैतसम्म ५० करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत आवको ९ महिना सकिँदासम्म १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा गरेकोमा यस्तो नाफा करिब एक चौथाईमा सीमित भएको हो ।
बैंकको खुद ब्याज आम्दानी नै घट्दा अन्य आम्दानीले नाफा बढाउन सहयोग गर्न सकेनन् । गत वर्ष खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड रहेकामा यस वर्ष ७ अर्ब ७५ करोडमा सिमित भएको छ ।
बैंकले नोक्सानाी व्यवस्थाका लागि १ अर्ब ३२ करोडमात्र छुट्याएको छ । यो रकम गत आवको यही अवधिको भन्दा करिब १ अर्ब कम हो ।
कमाइ नबढेको बैंकको खर्च भने बढेको छ । बैंकको गैर सञ्चालन खर्च ३ अर्ब १० करोड भएको छ । गत आवमा यस्तो खर्च ५२ करोडमात्र थियो । यसैगरी बैंकको डिफर्ड ट्याक्स पनि १ अर्ब ४ करोड रहेको छ । फलस्वरुपः नाफामा भारी गिरावट आएको हो ।
नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी ११.९९ रुपैयाँबाट घटेर ३.०८ रुपैयाँमा सिमित भएको छ । नेटवर्थ भने १७१.४४ रुपैयाँ छ।
यस अवधिमा बैंकको प्राथमिक पुँजीकोष ८ प्रतिशतमा सिमित भएको छ । यो तथ्यले बैंक थप कर्जा प्रजवाह गर्न नसक्ने स्थितिमा पुगेको देखाउँछ । यसैगरी निष्क्रिय कर्जा ७.६८ प्रतिशत कायम भएको छ । गत आवको चैतसम्म यस्तो कर्जाको अनुपात ४.९६ प्रतिशतमात्र थियो ।
अधिकांश परिसूचकमा कमजोर बन्दा हिमालयन बैंक ७ अर्ब ३६ करोड रुपैयाँ सञ्चित घाटामा पुगेको छ । गत आवको चैतसम्म बैंकको वितरणयोग्य रकम ५ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक थियो ।








प्रतिक्रिया