
काठमाडौं । भारतमा पहिलो पटक ऊर्जा क्षेत्रको ईएसजी (पर्यावरण, सामाजिक र सुुशासन)को रेटिङ भएको छ । भारतको केयरएज–ईएसजी रेटिङले एनएलसी इन्डियाको रेटिङ गरेको हो ।
एनएलसीलाई केयरले ५५.८ अंक दिएको छ ।
कम्पनीले ५५.८ ईएसजी स्कोरसहित ‘केयरएज–ईएसजी ३’ को रेटिङ पाएको छ । भारतको उर्जा क्षेत्रका कम्पनीहरुमा भएको पहिलो ईएसजी मूल्यांकन हो ।
‘केयरएज–ईएसजी ३’ रेटिङ पाएसँगै एनएलसी इन्डियाले पर्यावरणीय प्रभाव, सामाजिक उत्तरदायित्व र सुशासन प्रणालीमा प्रभावकारी रुपमा काम गरेको प्रमाणित भएको छ । कम्पनीले विशेष गरी फोहोर व्यवस्थापन, जैविक विविधता संरक्षण, नवीकरणीय ऊर्जाको प्रयोग र समुदायका लागि उल्लेखनीय सुधारका काम गरेको जनाइएको छ ।
केयरएज–ईएसजीले यो रेटिङ तयार गर्न ३०८ वटा सूचकको अध्ययन गरेको थियो । रेटिङ गर्दा पर्यावरणका लागि ४५ प्रतिशत, सामाजिकका लागि ३० प्रतिशत र सुुशासनका लागि २५ प्रतिशत अंकभार तोकेको थियो ।
रेटिङ कम्पनीका अनुसार पर्यावरणमा ४२.८ अंक पाएको छ । कम्पनीले कार्वन उत्सर्जन, ऊर्जा खपत, पानीको प्रयोग र फोहोर व्यवस्थापनमा गरेको प्रगतिलाई सन्तोषजनक देखाएको छ ।
यस्तै सामाजिक तर्फ ६०.५ अंक पाएको छ । यसको मतलब सामुदायिक विकासका लागि कर्मचारीको हितका लागि उल्लेख्य काम गरेको देखाएको छ । यसतर्फ कम्पनीले आयोजना निर्माण गरेको क्षेत्रमा गरेका काम, कम्पनीमा पालना गरेको श्रम ऐन, श्रमिकको हितमा गरेको कामलाई दर्साउँछ ।
यस्तै सुशासन तर्फ ७३.७ अंक पाएको छ । यसले कम्पनीले गरेका काम कारबाही कत्तिको पारदर्शी छन् ? कम्पनीले आवश्यक नीतिगत व्यवस्थाहरु कसरी गरेको छ भन्ने जनाउँछ । रेटिङ गर्दा प्राप्त उक्त अंकले सुशासन तर्फ कम्पनीले प्रभावकारी रुपमा काम गरेको देखाएको छ ।

यसले श्रमिकहरूले आफ्नो अधिकार उपयोग गरेका छन् वा छैनन् ? श्रम ऐनअनुसार उनीहरूले सेवा सुविधाहरू पाएका छन् वा छैनन् ? संस्थामा समावेशिता छ वा छैन ? उद्योगी, व्यवसायी तथा लगानीकर्ताले ग्राहक सुरक्षाका नीतिहरूलाई कत्तिको पालना गरेका छन् ? उत्पादित वस्तुमा आवश्यक जानकारी सर्वमान्य भाषामा, स्पष्ट र बुझ्न सकिने रूपमा प्रस्तुत गरिएको छ वा छैन ? भन्ने विषयलाई प्रष्टयाएको छ ।
कम्पनीको दीर्घकालीन अवस्था र जोखिम व्यवस्थापनमा कत्तिको गम्भिरता पूर्वक काम गरेको पनि देखाएको छ ।
केयरएज–ईएसजीका निर्देशक निकुञ्ज दुबेले यस रेटिङले भारतको ऊर्जा क्षेत्रमा स्थिरताको प्रवद्र्धन गर्ने उद्देश्य राखेको बताए । उनले यो रेटिङ कम्पनीहरूले आफ्नो सुधारका लागि प्रयोग गर्न सक्ने बताए ।
एनएलसी इन्डिया लिमिटेड भारतको नवरत्न (सार्वजनिक संस्थान) कम्पनी हो । सन् १९५६ मा स्थापना भएको यो कम्पनीले विद्युत उत्पादन र कोइला खानीमा लगानी गरेको छ । तमिलनाडुमा रहेको कम्पनीले विद्युत उत्पादन ७५ प्रतिशत र कोइला खानीमा २५ प्रतिशत लगानी गरेको छ । यसले तमिलनाडुका साथै आन्ध्र प्रदेश, कर्नाटक, केरल, तेलङ्गाना, राजस्थान, अण्डमान र पुदुचेरी जस्ता राज्यमा विद्युत आपूर्ति गर्ने गरेको छ । उर्जा र कोइला खानीमा लगानी गरेको कम्पनीले पाएको रेटिङबाट फोहोर व्यवस्थापन, जैविक विविधता संरक्षण, नवीकरणीय ऊर्जाको प्रयोग र सामाजिक कल्याणका क्षेत्रमा प्रभावकारी काम गरेको देखिएको छ ।
यसले भारतको उर्जा क्षेत्रमा नयाँ मानक स्थापित गरेको छ ।
केयरएज–ईएसजीले ३०८ वटा संकेतकहरू प्रयोग गरेर यो रेटिङ तयार गरेको हो। यसले निवेशकहरूलाई कम्पनीको दीर्घकालीन स्थिरता र जोखिम व्यवस्थापन बुझ्न मद्दत गर्छ ।
विश्वभर नै सुरुवातमा ईएसजी लागु गर्दा खर्चिलो र झन्झटिलो लाग्न सक्छ, तर यसले कम्पनीको ब्रान्ड छवि सुधार गर्छ । हरित लगानी गरेमा कम्पनी सूचीकृत भएको खण्डमा लगानीकर्ताको विश्वास बढ्छ ।
सूचीकृत कम्पनीहरूको छवि, बजार मूल्य तथा ईएसजी रेटिङ भएका कम्पनीहरू लगानीकर्ताको रोजाइमा पर्ने गरेका छन् । ईएसजी रेटिङ प्राप्त गरेका कम्पनीहरूलाई लगानीकर्ताले बढी विश्वास गर्ने, तिनको बजार मूल्य अन्य कम्पनीहरूको तुलनामा उच्च हुने र बजार भ्यालु बढ्ने गरेको छ ।
पब्लिक तथा संस्थापक सेयर खरिदकर्ताहरूलाई पनि यस्तो रेटिङले प्रभाव पार्ने गरेको छ ।








प्रतिक्रिया