क्लिक-टक

बैंकहरु एआई अटोमेसन र डिजिटलाइजेसन केन्द्रित छन्, सेवा अझै सरल बन्छ

224
Shares

पछिल्लो समय बैंकहरु डिजिटल बैंकिङ अवधारणामा अगाडि बढीरहेका छन् । आफ्नो सेवालाई बढी भन्दा बढी मात्रामा डिजिटलाइज बनाउँदै ग्राहकलाई सरल र सुलभ बनाउने उद्देश्यअनुरुप बैंकहरुले डिजिटलाइजेसनमा विभिन्न काम गर्दै आएका हुन् । बढ्दो प्रतिस्पर्धाकाबीच ग्राहकलाई आफूतिर आकर्षण गर्नका लागि बैंकहरुमा विश्वमा प्रयोग भएका नविन प्रविधि र प्रणाली अपनाउने होडबाजी नै देखिन्छ ।

हालैमात्र सिटिजन्स बैंकले मोबाइल बैंकिङ एपबाट नै नयाँ प्रोडक्ट सी–आस्बा तथा सीआरएनको सुविधा ल्याएको थियो । बैंकले डिम्याट खाता भएको सेवाग्राहीले सी–आस्बा तथा सीआरएन नम्बर घरबाट नै पाउन सक्ने र आईपिओमा आवेदन दिनसक्नेसमेत सुविधा ल्याएको थियो । बैंकमा खाता भएका एवम् नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न इ भौचर प्रयोग गर्ने लगायतका सुविधा समेत बैंकले प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना प्रविधि (आईटी) अफिसर प्रमुख सञ्जिबकुमार श्रेष्ठ बैंकले आफ्नो डिजिटल यात्रालाई थप मजबुद बनाउँदै लैजाने बताउँछन् । सिटिजन्स बैंक इनोभेसन र नयाँ प्रविधि प्रयोगमा अग्रस्थान रहेकाले यसलाई निरन्तरता दिने उनको तर्क छ । हुन, त अन्य बैंकहरुले पनि यस क्षेत्रमा निरन्तर काम गर्दै आएका छन् भने नयाँनयाँ प्रोडक्ट लन्च गर्दै आएका छन् । यसै सन्दर्भमा नेपालको वर्तमान डिजिटल बैंकिङको अवस्था, सुरक्षा चुनौति र आगामी बाटोका विषयमा क्लिकमान्डुका पदम भुजेलले श्रेष्ठसँग गरेको कुराकानी:

नेपालको वर्तमान डिजिटल बैंकिङको अवस्था कस्तो छ ? विश्व बजारसँग तुलना गर्दा हामी कुन स्थानमा छौं ?

हिजोका दिनमा हामीले कागजको पाना पल्टाएर बैंकिङ प्रणाली चलाएको अवस्था थियो । हरेक कामका लागि कागजी झन्झट बेहोनुपर्ने र सानो कामका लागि बैंक कार्यालय नै धाउनुपर्ने अवस्था थियो । तर, यो अवस्थामा आज ठूलो परिवर्तन आएको छ । लाइन बसेर सेवा लिनुपर्ने अवस्था छैन, आज हामी पूर्ण डिजिटल यात्रातर्फ अगाडि बढेका छौं ।

बैंकहरु आजका दिनमा अझै डिजिटल र सहज सेवा प्रदान गर्ने कार्यतर्फ प्रयत्नशील छन् । विश्वका अन्य मुलुकमा भएको डिजिटल बैंकिंङ प्रणालीसँग नेपालको तुलना गरेर हेर्ने हो भने पनि हामी धेरै पछाडी छैनौं । विश्व बजारमा जस्ता किसिमको प्रविधि र प्रणाली अपनाएका हुन्छन् नेपाली बैंकहरुले पनि त्यस्तै प्रणाली अपनाएका छन् ।

हामीले पनि त्यसको प्रयोग निरन्तर गर्दै आएका छौं । समग्र, विश्व बजार र नेपाली बैंकिङ क्षेत्र जसरी अगाडि बढ्दै गएको छ त्यसमा सिटिजन्स बैंक पनि डिजिटल यात्रामा निरन्तर अगाडि बढीरहेको छ । विश्व बजारमा भित्रिएका नयाँ नयाँ प्रविधिलाई प्रयोग गर्दै सिटिजन्स बैंकले बैंकिङ सेवालाई आधुनिक बनाउँदै लगेको छ । डाटालाई पेपरलेसग गर्दै डिजिटलाइज बनाउने योजनामा सिटिजन्स बैंक निरन्तर लागि रहेको छ ।

अहिले तपाईंहरुले डिजिटल बैंकिङ सेवालाई कसरी अगाडि बढाइरहनु भएको छ ? कस्तो संरचनामा तपाईंहरुले आफ्नो सेवा प्रवाह गर्दै आउनु भएको छ ?

हामीले बैंकिङ सेवालाई डिजिटल बनाउने कार्य अग्रस्थानमा राखेर अगाडि बढ्दा भित्री कार्यमा अटोमेसन फ्लो र बाहिरी कार्यमा ग्राहकलाई डिजिटल प्लेटफर्ममार्फत् सेवा दिने कार्यमा अगाडि बढी रहेका छौं । एउटा बैंकले गर्नुपर्ने विभिन्न र चरणबद्ध कामहरुलाई अटोमेसन बनाउँदै लग्ने प्रयत्नमा हामी लागि परेका छौं ।

डिजिटल अटोमेसनको प्रयोगले मानविय त्रृटी कम हुने, अपरेसनल लागत कम हुने र गल्तीहरु पनि कम हुन्छ । यसका साथै, ग्राहकको तथ्यांक डिजिटल रुपमा रहने र सुरक्षित पनि हुने भएकाले सिटिजन्स बैंकले आफ्नो सेवा प्रवाह गर्ने कामलाई बढी भन्दा बढी डिजिटल बनाउने प्रयत्न गर्दै आएको छ । बैंकिभित्र हामीले यो किसिमको डिजिटल अटोमेसनको काम गर्दै गर्दा सेवा लिने ग्राहलाई पनि त्यहि रुपमा विकास गर्दै आएका छौं ।

डिजिटल माध्यमबाट घरमै बसेर धेरै सेवाहरु लिने सुविधा ग्राहकलाई दिएर हामीले आफ्नो सहज सुविधा प्रदान गर्ने काम गरिरहेका छौं । हिजोका दिनमा बैंकमा पुगेर लाइन बसेर गर्नुपर्ने धेरै काम आजका दिनमा डिजिटल माध्येमबाट घरमै बसेर गर्न सकिने अवस्था बनेको छ । अन्य सेवाहरुलाई पनि अझै डिजिटल बनाउने प्रयत्नमा सिटिजन्स बैंक निरन्तर लागि परेको छ ।

डिजिटल बैंकिङको कुरा गर्दै गर्दा सिटिजन्स बैंकले कस्ता कस्ता डिजिटल प्रोडक्टहरु सञ्चालन गरिहेको छ ?

सिटिजन्स बैंकले बजारको भन्दा अझ एक पाइला अगाडि बढेर नयाँ नयाँ प्रोडक्टहरु ल्याउँदै आएको छ । फिक्स डिपोजिट खाता रियल टाइममा मोबाइलबाट भर्न मिल्ने सुविधा हाम्रोमा छ भने आजका दिनमा सिटिजन्सको मोबाइल बैंकिङ प्रणालीबाट नै आईपिओ भर्न मिल्ने सुविधा छ । भोलीका दिनमा पनि हामी मोबाइल बैंकिङमा पनि थप नयाँनयाँ सुविधा थप्ने योजनामा छौं ।
चेक बुक रिक्वेस्ट गर्ने तथा अन्य किसिमको सुविधा पनि हामी ल्याउने तयारीमा हामी छौं । आजका दिनमा बैंकमा नै नआएर सिटिजन्सका धेरै सुविधाहरु ग्राहकले लिन पाउने अवस्था छ । केवाइसी अपडेट गर्न मिल्ने, बैंकको कारोबार हिस्ट्री चाहेको समयमा अनलाइबाट नै हेर्न सकिने जस्ता सुविधा हामीले ल्याएका छौं । ट्याप एन्ड पे, भर्चुल कार्डमा पनि हामीले काम गरिसकेका छौं ।

यसरी, समग्र यस क्षेत्रलाई हेर्ने हो भने पनि हामीले डिजिटल प्रविधिको विकास र नयाँ प्रोडक्ट ल्याएर नागरिकको सेवा सरल बनाउने काममा महत्वपूर्ण काम गर्दै आएका छौं । नेपाली बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने, इनोभेसन तथा नयाँ सुरुवात गर्ने काममा सिटिजन्स बैंक अग्रस्थानमा रहँदै आएको छ जसको निरन्तर भोलीका दिनमा पनि हामी दिँदै जाने छौं । हाम्रो मुख्य उद्देश्य भनेको सबै बैंकिङ सेवा नै मोबाइलमा होस् भन्ने हो ।

भरखरै तपाईंले मोबाइल बैंकिङबाटै आईपिओ भर्न मिल्ने, मुद्दती खातासमेत घरबाटै खोल्न मिल्ने लगायतका धेरै सेवाका विषयमा कुरा गर्नुभयो । यी सेवातर्फ नागरिकलाई आकर्षित गर्न, उनीहरुलाई यसमा अभ्यस्त बनाउन कस्ता काम गर्नु हुन्छ ?
नयाँ प्रोडक्ट ल्याउँदै गर्दा ग्राहक तथा प्रयोगकर्तालाई सरल बनाउनका लागि प्रयोगको तरिका, अपनाउनुपर्ने सुरक्षा उपाय हामीले जानकारी दिने गर्दछौं । इमेलमार्फत् मास बैंकिङबाट जानकारी दिने, विभिन्न किसिमको भिडियो सन्देस तयार गरेर सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, भाइबरमार्फत् प्रवाह गर्ने काम भइरहेको छ । यो किसिमले हामीले आफ्नो सचेतना फैलाउने काम गर्दै आएको छ ।

डिजिटलाइजेसनका कुरा गर्दै गर्दा सुरक्षा चुनौतिका विषय पनि जोडिएर आउँछन् । तपाईंहरुले सुरक्षा चुनौतिलाई कसरी हेर्दै आउनु भएको छ ?

प्रविधिको प्रयोग गर्दै जाँदा सुरक्षा चुनौतिहरु सँगै जोडिएर आउने गरेका छन् । तर, सिटिजन्स बैंकले सुरक्षा अपनाउने विषयमा पूर्णरुपमा काम गर्दै आएको छ । आन्तरिक, बाह्य वा जस्तोसुकै कुराहरुको सुरक्षामा सिटिजन्सले संवेदनशील भएर काम गर्दै आएको छ ।

प्रयोगकर्ताको डेटा तथा हाम्रो प्रणालीका सवालमा हामी सुरक्षित छौं र प्रयोगकर्ता सुरक्षित छन् । हामीले आफू, बैंक र ग्राहक सबैलाई सुरक्षित राख्ने काममा निरन्तर काम गर्दै आएका छौं । तेस्रो पक्षसँगको सुरक्षामा समेत हामीले कुनै कमजोरी राखेका छैनौं । कुनै सेवा डिजिटलाइज गर्दा त्यसलाई कसरी सुरक्षित बनाउने भन्ने पाटोमा पनि हामीले काम गरेका छौं ।

बैंकहरुले आफ्नो प्रणाली सुरक्षित राख्ने काम गरिरहेको विषय आइसकेको छ । यसका अलावा ग्राहकलाई सुरक्षित डिजिटल कारोबार गराउनका लागि तपाईंहरुले के कस्तो भूमिका खेल्दै आउनु भएको छ ?

हामी डिजिटलाइज हुँदै जाँदा यसको प्रयोगमा ग्राहक पनि उतिकै सचेत हुन आवश्यक छ । डिजिटल प्रोडक्टमा हुने असुरक्षा कम गर्नका आवश्यक महत्वपूर्ण विषय भनेको सचेतना हो । बैंकहरुले डिभाइस तथा आफ्नो प्रणालीबाट कारोबार र डेटालाई सुरक्षित गरेका हुन्छन् भने यसलाई अझ थप सुरक्षित बनाउने कार्यमा प्रयोगकर्ताको पनि हात हुन्छ ।

कर्मचारी र प्रयोगकर्ता सचेत भएको खण्डमा सुरक्षा थप बलियो हुन्छ । नागरिकमा सचेतना प्रदान नगरी नयाँ नयाँ डिजिटल प्रोडक्ट ल्याउनु भनेको असुरक्षा अपनाउनु हो । अहिले झन् डिजिटल माध्यमबाट ठग्नेक्रम मौलाएको छ । यसलाई बैंकले मध्येनजरमा राख्दै आएको छ ।

विभिन्न पुरस्कार पर्यो भन्दै ओटिपी माग्ने, पासवर्ड सेयर गर्ने कार्य भइरहेको र यसबाट मानिस ठगिमा परेको विषयमा हामी सबै जानकार नै छौं । डिजिटल कारोबारमा प्रयोगकर्ताले आफूलाई सहजतासँगै जोखिम पनि छ भन्ने विषय बुझ्नुपर्छ । सिटिजन्स बैंकले विभिन्न माध्यमबाट सचेतना फैलाउने काम गरेर आफ्ना ग्राहकलाई सुरक्षित बनाउने प्रयत्न निरन्तर गर्दै आएको छ ।

डिजिटलाइज हुँदै जाने कुरा गर्दा नयाँ प्रविधि, नयाँ अभ्यास र नयाँ संरचना भित्र्याएर त्यसलाई प्रयोगमा लैजान बैंकका लागि कति चुनौतिपूर्ण छ ?

डिजिटलाइजेसनमा जानू आफैंमा चुनौतिपूर्ण कार्य हो । नयाँ प्रविधि र नयाँ अभ्यास सजिलो काम होइन । यद्यपि, यसमा चुनौति मात्रै छैन, अवसर र सुविधा पनि सँगै जोडिएको छ । डिजिटल कारोबारको सुरुवातले ग्राहकलाई सेवा लिन सजिलो हुन्छ भने लागत पनि सस्तो पर्छ । समयको बचत हुन्छ ।

डिजिटलाइजेसनमा बैंकहरुले चुनौतिको सामना गर्दै आएका कारणले नै हाम्रो बैंकिङ सेवा हालको अवस्थामा आइपुगेको हो । हिजोका दिनमा जे गर्न पनि कार्यालय धाउनुपर्ने अवस्था अन्त्य भएर आजका दिनमा घरबाटै वा जहाँबाट जुनसुकै ठाउँबाट कारोबार गर्न सक्ने स्थिति बनेको छ । बैंकका लागि यो चुनौतिपूर्ण रहे पनि ग्राहकलाई सहज ढंगमा सेवा प्रवाह गर्नका लागि लामो समयदेखि यसमा निरन्तर काम गर्दै आएका छौं ।

कारोबार मात्रै डिजिटल बनाउने भन्दा पनि समग्र सेवालाई डिजिटल बनाउन कसरी काम भएको छ ? हाल कार्यालय पुग्नेपर्ने सुविधालाई पनि डिजिटल माध्यमबाट सम्पन्न गर्नसक्ने बनाउन कस्तो योजनामा हुनुहुनुन्छ ?

सिटिजन्स बैंकले डिजिटल प्रोडक्टलाई लिएर निरन्तर अगाडि बढीरहेको छ । आफ्नो बैंकको आन्तरिक प्रणाली अटोमेसनमा लग्दै गर्दा भोलीका दिनमा सम्पूर्ण सेवा डिजिटल माध्यमबाट जहाँ बसेर पनि गर्न सकिने स्थिति सिर्जना गर्ने योजनामा हामी छौं । एलसी खोल्ने, क्रेडिटलोन, फिक्स डिपोजिट तथा सबै किसिमको सेवालाई डिजिटल बनाउनुपर्छ भन्ने उद्देश्यमा केन्द्रीत भएर हामीले काम गरिरहेका छौं ।

बैंकले प्रविधिमैत्री सेवा विस्तार गर्दै मोबाइल बैंकिङमार्फत् ग्राहकलाई विभिन्न आधुनिक सुविधा उपलब्ध गराएको छ । अब ग्राहकले मोबाइल बैंकिङ प्रयोग गरेर तत्कालै मुद्दत खाता खोल्न, भर्चुअल कार्डमार्फत भुक्तानी गर्न, र जुनसुकै बैंकमा रकम स्थानान्तरण गर्न सक्ने सुविधा प्राप्त गरेका छन् ।

त्यस्तै, सिटिजेन्स डिजिटल हब को माध्यमबाट ग्राहकले एटीएम प्रयोग गरी नगद जम्मा तथा झिक्ने, चेक सफा (क्लियरिङ) गरी जम्मा गर्ने, आफ्नो खाताको जानकारी तथा स्टेटमेन्ट प्राप्त गर्ने जस्ता सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन् । वेबसाइट र मोबाइल बैंकिङबाट घरमै बसेर स्मार्ट सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । यी सेवामा कार्ड ब्लक गर्ने, नयाँ पिन माग गर्ने, मोबाइल बैंकिङको अनुरोध गर्ने, पिन पुनः सेट गर्ने, डीम्याट खाताको सीआरएन नम्बर माग गर्ने, मेरो सेयर अनुरोध, व्यापारी सेवा दर्ता लगायतका सुविधाहरू समावेश छन् ।

भविष्यमा बैंकले मोबाइल बैंकिङमा थप नविन सुविधा र उत्पादनहरू समेट्दै सेवा विस्तार गर्ने रणनीति बनाएको छ । बैंकका आन्तरिक कार्यहरू पनि पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाइएका छन्। व्यापारिक कार्यप्रवाहहरू (बिजनेस वर्कफ्लो) लाई स्वचालित बनाउँदै, ग्राहकको खाता खोल्ने फाराम तथा केवाईसी विवरणहरू कागजरहित रूपमा डिजिटल प्रणालीमा सुरक्षित राखिएको छ । साथै, डेटा भण्डारण गृह )डेटा वेयरहाउस) को अवधारणा अनुसार ग्राहकको विवरण सङ्कलन, विश्लेषण र प्रयोग सम्बन्धी कार्यहरू निरन्तर अगाडि बढाइएका छन् ।

भविष्यमा ओपन बैंकिङ र ट्याप एन्ड पे जस्ता प्रविधिमा आधारित सेवा सञ्चालन गर्ने योजनासमेत रहेको छ । यसबाट सबै प्रकारका ग्राहकले आफू बसिरहेको स्थानबाट सहज रूपमा सम्पूर्ण बैंकिङ सेवा लिन सक्ने वातावरण बनाउने लक्ष्य लिइएको छ ।

कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोगमार्फत कम लागतमा प्रभावकारी सेवा प्रदान गर्न, ग्राहकको विस्तृत विवरण (३६० डिग्री प्रोफाइल) निर्माण गरेर व्यवहार विश्लेषण गर्न, भविष्यवाणीमार्फत नयाँ व्यवसायिक साझेदारी र सेवा विकास गर्न, तथा डिजिटल सुरक्षालाई अझ बलियो बनाउन बैंक निरन्तर सक्रिय छ । एआई प्रविधिअन्तर्गत संवाद सहायक (च्याटबोट), स्वचालित प्रक्रिया प्रणाली (रोबोटिक प्रोसेस अटोमेसन) को प्रयोग गरी विभिन्न कार्यहरू स्वचालित बनाइएको छ।

सिटिजन्स बैंकको मोबाइल बैंकिङबाटै आईपिओ भर्न मिल्ने, एफडी गर्न मिल्ने जस्ता सुविधामा ग्राहको प्रतिक्रिया कस्तो पाउनु भएको छ ? यसप्रतिको आकर्षण कस्तो छ?

हामीले पछिल्लो पटक ल्याएको सेवाप्रति ग्राहकहरुको प्रतिक्रिया एकदमै राम्रो छ । नयाँ किसिमको प्रोडक्टले घरमै बसेर कारोबार गर्न सकेको भन्दै खुसीयाली व्यक्त भएको छ । यस्ता नयाँ प्रोडक्ट आएपछि सिटिजन्स बैंकमा जोडिने मानिस पनि उल्लेख्य बढेका छन् ।

खाता खोल्ने बढेका छन् भने मोबाइल बैंकिङबाट आईपिओ भर्न पाउने भएपछि मोबाइल बैंकिङ सेवा लिने ग्राहक पनि बढेर गएका छन् । यसले सिटिजन्स बैंकलाई बजारमा थप उच्च र मजबुद बनाएको छ । यसले आधुनिक बैंकिङ प्रणालीलाई थप सुधार गर्दै र ग्राहकमैत्री बनाउँदै लगेको छ ।

डेटा डिजिटलाइजेसनको पाटोमा अगाडि बढ्ने क्रममा सिटिजन्स बैंकका आगामी योजनाहरु के छन् ?

बैंकले प्रविधिमैत्री प्रणालीको विकास गर्दै सेवाहरूलाई कागजरहित बनाउने तथा कृत्रिम बौद्धिकता (एआई) प्रविधिको उपयोगमार्फत डिजिटल रूपान्तरणको यात्रामा उल्लेखनीय प्रगति गरेको छ । बैंकले आफ्ना आन्तरिक प्रक्रिया तथा कार्यपद्धतिलाई डिजिटल माध्यमबाट सञ्चालन गर्दै सम्पूर्ण कारोबार प्रणालीलाई पूर्ण रूपमा स्वचालित बनाउने योजना अघि सारेको छ ।

यस योजनाअनुसार, ग्राहकको खाता खोल्ने फाराम तथा ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरणहरू कागज प्रयोग नगरी डिजिटल माध्यमबाट सङ्कलन गरी सुरक्षित राखिने व्यवस्था गरिएको छ । त्यस्तै, आन्तरिक स्वीकृति प्रक्रिया पनि डिजिटल प्रणालीमार्फत स्वचालित बनाइएको छ । ऋण सम्बन्धी सम्पूर्ण प्रक्रिया डिजिटल बनाइएको छ भने डिजिटल बैंकिङ सेवामा ग्राहक दर्ता प्रक्रिया पनि पूर्ण रूपमा कागजरहित र डिजिटल माध्यममै आधारित बनाइएको छ ।

बैंकले ग्राहकसँग सम्बन्धित विविध विवरणहरूलाई एकीकृत रूपमा व्यवस्थापन गर्न डेटा भण्डारण गृह (डेटा वेयरहाउस) को अवधारणा अवलम्बन गर्दै आएको छ । सो भण्डारित डेटा विश्लेषण गरी कृत्रिम बौद्धिकता प्रविधिको सहयोगमा ग्राहकको समग्र दृष्टिकोण (तीन सय साठी डिग्री अवलोकन) तयार पारिन्छ । यसबाट ग्राहकको सेवा प्रयोग गर्ने बानी तथा आवश्यकताहरू पहिचान गरी थप सुविधायुक्त, व्यक्तिगत सेवा प्रदान गर्न सकिनेछ ।

सेवा सरल, सहज र कम लागतमा प्रदान गर्ने उद्देश्यले बैंकले कृत्रिम बौद्धिकता प्रविधिमार्फत संवाद सहायक (च्याटबोट) र स्वचालित कार्य प्रणाली (रोबोटिक प्रक्रिया स्वचालन) को प्रयोग गर्दै विभिन्न प्रक्रिया स्वचालित बनाएको छ। साथै, पाठ्य सन्देशलाई आवाजमा रूपान्तरण गर्ने प्रविधि मार्फत बैंकको कल केन्द्रबाट ग्राहकलाई स्वचालित रूपमा कल गरी आवश्यक जानकारी उपलब्ध गराउने सुविधा पनि सञ्चालनमा ल्याइएको छ।

ग्राहकको विवरणको विश्लेषणबाट उनीहरूको व्यवहार तथा सम्भावित आवश्यकताहरू पूर्वानुमान गरी थप व्यक्तिगत अनुभूति हुने सेवा प्रदान गर्ने योजना अनुरूप बैंक निरन्तर अग्रसर रहेको छ । डिजिटलाइजेसनतर्फको यात्रा निरन्तर जारी रहन्छ । अहिले डिजिटल ट्रान्जेक्सन ८७ प्रतिशत हुँदा १३ प्रतिशत सेवा लिन भने कार्यालय उपस्थित हुनुपर्ने अवस्था छ । तर, यो भन्दा बढी सेवा मानिसले अनलाइबाट नै लिन पाउनुपर्छ भन्ने उद्देश्यसहित काम गरिरहेका छौं । मोबाइल बैंकिङ थप प्रभावकारी बनाउने, नयाँ नयाँ सुविधा ल्याउने, ग्राहकको डेटालाई कसरी सुरक्षित गर्ने, कस्तो प्रकृतिको ग्राहकलाई कस्ता सुविधा दिने भन्ने विषयलाई हामीले मध्येनजर गर्दै आएका छौं ।

अहिले हाम्रो बैंकको शाखा कार्यालय ६१ वटा जिल्लामा पुगिसकेको छ । यी सबै कार्यालयबाट हामीले ग्राहकलाई नयाँ नयाँ प्रविधिको विषय बुझाएर विस्तारीत काम गर्दै आएका छौं । ग्रामिण भेगका मानिसलाई अनलाइन प्लेटफर्मबाट पनि बुझाउने र सुविधा लिन आग्रह गर्दै आएका छौं । हामीले हाम्रो सुविधा र प्रोडक्ट प्रयोगका तरिका र फाइदाबारे ग्राहकलाई विभिन्न माध्यमबाट जानकारी गराइरहेका छौं जसलाई थप बढाएर जाने छौं ।

फोटो/भिडियोः प्रभात खनाल