सुकुम्बासी बस्तीका रिजवान कसरी बने डलर अर्बपति ?

१२ वर्षको उमेरदेखि खुद्रा व्यापार, आज सबैभन्दा ठूला निर्माण व्यवसायी !

1.7k
Shares

एजेन्सी । विश्व बजारमा हरेक वर्ष नयाँ अर्बपतिहरु उदाइरहेका हुन्छन् । उनीहरुमध्ये धेरैजसो पारिवारिक व्यापारिक घराना वा ठूलो लगानीबाट माथि उठेका हुन्छन् । यसपटक भारतका एक अर्बपति यस्ता छन् जसको अलि फरक पृष्ठभूमि छ ।

यसबारे थाहा पाउनुभन्दा पहिले एउटा कुरा सोचौं, सुकुम्बासी जीवनबाट उठेर कोही अर्बपति बन्न सम्भव छ ? सामान्यतया यो निकै दुर्लभ संयोग हुनसक्छ । भारतीय उद्यमी रिजवान साजनले यसलाई सम्भव बनाएका छन् ।

तर कसरी ? दुबइमा रहेर व्यवसाय गरिरहेका भारतीय निर्माण व्यवसायीको अर्बपति बन्ने यात्रा रोचक र प्रेरणादायी छ ।
भारतको मुम्बइस्थित सुकुम्बासी बस्तीमा जन्मिएर हुर्किएका रिजवान हाल भारतकै सबैभन्दा ठूला निर्माण व्यवसायीको रुपमा चिनिएका छन् । तर उनले दुबइमा लगानी गर्दैआएका छन् ।

हालै मात्र भारतीय एउटा पोडकास्ट अन्तर्वार्तामा निर्माण व्यवसायमा लगानी गर्दाका फाइदा, बेफाइदा साथै आफ्नो उद्यम यात्राबारे उनले खुलेर बोलेका छन् ।

उनले यस व्यवसायबाट पैसा मात्रै कमाएका छैनन्, नयाँ लगानीकर्तालाई नयाँ प्रेरणा र उपाय पनि सिकाएका छन् ।

को हुन् रिजवान ?

रिजवान सुकुम्बासी बस्तीमा हुर्कँदै गर्दा उनको परिवार गहिरो आर्थिक संकटबाट गुज्रिरहेको थियो । उनका बाबु स्टिल कम्पनीमा काम गर्थे । कठिन अवस्थाका बावजुद उनी आफ्नो आर्थिक अवस्था उकास्नका लागि धेरै मेहनत गर्थे । यसबारे धेरै सोचिरहेका हुन्थे ।

व्यक्तिगत खर्च जुटाउनका लागि युवा अवस्थामा नै उनले ससानो व्यवसाय संचालन गर्न थाले । जतिबेला उनी मेला वा पर्वमा स्टेसनरी सामान र मिठाइ बिक्री गर्थे ।

रोचक त के भने यो सबै काम गर्दा उनी जम्मा १२ वर्षका थिए । त्यसबेला नै उनले आफ्ना साथीहरुलाई किताब पनि बिक्री गर्न थाले ।

स्कुले जीवनमा उनी राखीको बेला जनै बिक्री गर्थे । दिवालीको बेलामा पटाका वा बत्ती बिक्री गर्थे । यस्तै मौसम वा चाडवाड अनुसार साथीभाइ र छिमेकीहरुलाई यस्तै ससाना सामान बिक्री गरेर खर्च चलाउँथे । १२ वर्षको उमेरमै यस्तो व्यापारिक मानसिकता आउनुको पछाडि उनी कुनै आइडिया भन्दा पनि मजबुरी भएको ठान्छन् ।

त्यसबेला उनले घरघरमा दुध बिक्री पनि गर्ने काम गर्थे । एक दिन उनले दुध बिक्री गर्न एउटा घरमा जाँदै गर्दा आफैँले माया गर्ने स्कुले साथीलाई भेटे । खासमा उक्त घर आफ्नै प्रेमिकाको घर थियो ।

अचानक उनी प्रेमिकाको घरमा दुध बेच्न पुग्दा मन पराउने प्रेमिकाले पनि उनलाई छोडिदिइन् ।

बाबुको मृत्युपछि सबैले हौसला दिएका थिए तर कसैले पनि सहयोग गर्न तयार नभएको उनी सम्झन्छन् ।

कसरी मोडियो जीवन ?

१६ वर्षको उमेर छँदा नै रिजवानले आफ्नो बाबुलाई गुमाउनु पर्यो । रेलवे स्टेसनमा रेल दुर्घटनामा उनका बाबुको मृत्यु भएको थियो । त्यस घटनापछि परिवारको सबै जिम्मेवारी रिजवानको काँधमा आयो । त्यसपछि उनी रोजगारीका लागि कुवेत पुगे । जहाँ उनी भवन निर्माण सम्बन्धी क्षेत्रमा सेल्समेनको रुपमा काम गर्थे ।

त्यसबेला उनले ग्राहक र व्यापारीहरुसँग यति सुमधुर सम्बन्ध बनाए कि जसले गर्दा उनले धेरैको विश्वास आर्जन गरे । र त्यही व्यवहारले उनको भविष्य उज्यालो बनायो ।

निर्माण व्यवसायमा प्रवेश

कुवेतमा निर्माण क्षेत्रको अनुभव लिएपछि उनी दुबइ गए । जहाँ निर्माण व्यवसायको राम्रो सम्भावना उनले देखिसकेका थिए । त्यसबेला दुबइमा आम मानिसहरु घरजग्गा खरिद गर्न खोजेको उनले थाहा पाए ।

विशेषगरी घरजग्गा खरिद गर्न चाहनेहरु धेरै भए पनि यसका लागि ऋण लिन मानिसहरुलाई कठिन परिरहेको उनलाई थाहा थियो । अन्तत यही समस्यालाई उनले अवसरको रुपमा बदले । रिजवानले त्यहाँ सहज भुक्तानी योजनालाई मानिसहरुमाझ परिचित गराए । यसका लागि मासिक किस्ताबन्दी र न्युनतम रकममा मानिसहरुले ऋण लिनसक्ने योजना उनले ल्याइ ।

कसरी बने डलर अर्बपति ?

रिजवानले १९९३ मा दुबइमा डान्युब ग्रुप स्थापना गरेका थिए । जुन प्रारम्भिक चरणमा भवन निर्माण सामग्रीमा केन्द्रित थियो र पछि रियल इस्टेट कम्पनीको रुपमा स्थापित भयो ।

उनको पहिलो मुख्य प्रोजेक्ट ‘ड्रिम्स बाइ डान्युब’ ५०० मिलियन दिराम पुँजीको भिल्ला प्रोजेक्ट बन्यो । यस्तै ग्राहकको आवश्यकता अनुसार यस कम्पनीले भिल्लाहरु निर्माण गर्ने र एक महिनामै बिक्री गर्न थाल्यो ।

फेब्रुअरी २०२३ मा ड्यान्युब सम्पत्तिले भ्यूज नामक दुईवटा अग्ला टावरहरूको परियोजना सार्वजनिक गर्‍यो जसको विकास लागत ३८१ मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ ।

सेप्टेम्बर २०२३ मा कम्पनीले ओसियनज नामक ६८०.७ मिलियन अमेरिकी डलर बराबरको अर्को ठूलो परियोजना सुरु गर्‍यो ।

नोभेम्बर २०२३ सम्ममा ड्यान्युब सम्पत्तिले ११ वटा परियोजनाहरूअन्तर्गत ४ हजार ५ सय ५५ युनिटहरू निर्माण सम्पन्न गरिसकेको छ, जसको संयुक्त बिक्री मूल्य ९८८ मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ। कम्पनीका केही चर्चित परियोजनाहरूमा ड्रिम्ज, स्टार्ज र ग्ल्याम्ज पर्छन् ।

हाल यो कम्पनी दुबइको सर्वाधिक ठूलो निर्माण कम्पनीको रुपमा चिनिन्छ । र यस मातहत चीन, क्यानडा, ओमान, भारत हुँदै बहराइन लगायत थुप्रै देशमा थुप्रै प्रोजेक्टहरु संचालित छन् ।

रिजवान गत वर्ष युएईमा बसेर डलर अर्बपति बनेका १ सय भारतीय उद्यमीहरुको फोब्र्स सूचीमा परेका थिए । यस्तै २०२२ मा ‘इकोनोमिक टाइम्स ग्लोबल इन्डियन लिडर’मा पनि सूचीकृत भएका थिए । यस्तै युएइको व्यवसायमा ५० जना प्रभावशाली भारतीय उद्यमीहरुमा उनको नाम छ । यसैगरी दुबइ क्वालिटी अवार्डबाट सम्मानित भएका छन् ।

यस्तै अरब क्षेत्रमा रहेका भारतीय व्यवसायीहरुमाझ फोब्र्सको उत्कृष्ट व्यवसायी अगुवाको सूचीमा परेका थिए । यस्तै मध्यपूर्वमा रहेका उत्कृष्ट निर्माण व्यवसायीको अवार्ड उनले तीनपटकसम्म प्राप्त गरे ।

यस्तै दुबइको भूमि विभागबाट २०१७ मा रियल इस्टेट टाइकुन अवार्ड प्राप्त गरे । यस्तै प्रसिद्ध एसियाली उद्यमीको अवार्ड उनले पाएका छन् । भिजनरी सीईओ अवार्ड लगायत थुप्रै अवार्ड उनले जितेका छन् ।

रिजवान मुम्बइमा यस्तो एउटा स्कुलमा पढ्थे जहाँ उनी मात्रै सबैभन्दा विपन्न परिवारका विद्यार्थी थिए । मासिक रुपमा उनले १५ रुपैयाँ खर्चका लागि पाउँथे ।

तर उक्त पैसा केही दिनमै सकिन्थ्यो । र रिजवान क्यान्टिनमा समोसा खान वा खाजा खानका लागि साथीहरुसँग सहयोग माग्थे ।
रिजवान हाल दुबइका सर्वाधिक धनाढ्य व्यवसायीहरुमध्ये पर्छन् । संसारका धनाढ्यहरु बस्ने सहरको रुपमा चिनिएको दुबइका सर्वाधिक धनी १० व्यवसायीमध्ये रिजवान एक हुन् ।

हाल उनको कुल सम्पत्ति कुल सम्पत्ति २.५ अर्ब अमेरिकी डलर रहेको बताइन्छ । उनी हाल हरेक वर्ष ४ देखि ५ वटा नयाँ प्रोजेक्ट संचालन गर्छन् ।

रिजवानले सन् १९९३ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा केही हजार दिरामबाट आफ्नो कम्पनी सुरु गरेका थिए र आज त्यसको वार्षिक आम्दानी ५.१३ अर्ब दिराम पुगेको छ।