सबैलाई रिझाउने हिराखुसी सहकारीका अध्यक्ष: नाम, ठेगाना थाहै नभएकालाई १६ करोड ऋण !

लुक्न पुग्थे भारत हुँदै अमेरिका

2.3k
Shares

काठमाडौं । बचतकर्ताको तीन करोड १२ लाख ८७ हजार ८३० रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका हिराखुशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सोमप्रसाद श्रेष्ठ पटक पटक अमेरिका जाने आउने गरेको पाइएको छ ।

२०६६ फागुनदेखि काठमाडौंको मैतिदेवीमा सञ्चालनमा आएको उक्त सहकारीमा श्रेष्ठ कोषाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए ।

श्रेष्ठ २०७० सालदेखि उक्त सहकारीमा अध्यक्ष रहँदै आएका छन् ।

उनी बचतकर्ताको करोडौं ठगेर भारत हुँदै पटक अमेरिका जाने र नेपाल फर्किएर लुक्ने गरेका थिए ।

चितवनको भरतपुर महानगरपालिका-२१ रंगिला स्थायी घर भएका ६२ वर्षीय श्रेष्ठ हाल काठमाडौं घट्टेकुलोमा बस्दै आएका थिए।

अध्यक्ष श्रेष्ठ सहकारी ठगेर २०८० असारमा अमेरिका भागेका थिए । त्यस समय ९ महिना अमरिका बसेर नेपाल आएर उनी लुकिछिपी बसेका थिए ।

नेपालमा बस्न नसक्ने भएपछि पुनः २०८१ पुस ६ गते भारतको बाटो हुँदै अमेरिका गएर उनी २ महिना बसेका थिए । त्यसपछि २०८१ फागुन २१ गते नेपाल आएका श्रेष्ठ चैत २ गते शनिबार काठमाडौंको बानेश्वरबाट पक्राउ परेका हुन् ।

श्रेष्ठले सहकारीका बचतकर्ताबाट उठाएको पैसा संस्थाका कोषाध्यक्ष गणेश अधिकारी, अधिकारीका व्यवसायीक साझेदार बद्रि कुमार खड्का र खड्काका आफन्तलाई अवैध रुपमा करोडौं कर्जा दिएका थिए ।

त्यतिमात्र होइन ऋणीको नामथर, वतन नै थाहा नपाई १६ करोडसम्म ऋण दिएर अध्यक्ष फरार हुँदै आएका थिए ।

अध्यक्ष श्रेष्ठले सहकारीको रकम अवैध रुपमा संस्थाका कोषाध्यक्ष अधिकारी समेत संलग्न रहेको बद्रि कुमार खड्काले सञ्चालन गरेको मालसुवा कन्ट्रक्सनको नाममा १ करोड १० लाख कर्जा लगानी गरेका थिए।

उनले खड्काका पारिवारिक सदस्यहरुलाई ठूलो रकम विनाधितो कर्जा प्रवाह गरेको पाइएको छ ।

श्रेष्ठले बद्रिकुमार खड्कालाई ५० लाख र उनको परिवारका सदस्यहरु अनिल खड्कालाई ५० लाख, अनोज खड्कालाई ५० लाख, मेनुका खड्कालाई ५० लाखसहित ३ करोड १० लाख दिएका थिए ।

कोषाध्याक्ष अधिकारीले १९ लाख, अधिकारीकी श्रीमती गंगा पराजुलीले ३२ लाख, लेखा संयोजक राजेश कुमार दत्तले १२ लाख, राजेश कुमार दत्तकी श्रीमती सुस्मिता दत्तले २० लाख र संस्थापक सदस्य पेशल कुमार बस्नेतले २० लाख तथा पारशमणि शर्मालाई १२ लाख रुपैयाँ ब्यापार व्यवसायका लागि श्रेष्ठले बचतकर्ताको पैसा विनाधितो दिएका थिए ।

अध्यक्ष श्रेष्ठले करिब १८ देखि १९ करोड रुपैयाँ विभिन्न व्यक्तिलाई विना धितो, सहकारी ऐन विपरित ऋण प्रवाह गर्दै आएका थिए।

त्यतिमात्र होइन, नाम थर, ठेगानासमेत थाहा नभएका व्यक्तिलाई समेत उनले मनलाग्दी कर्जा लगानी गर्दै आएको फेला परेको छ ।

‘एकिन नामथर वतन थाहा नभएका व्यक्तिहरुलाई १५ देखि १६ करोड रुपैयाँ कर्जा प्रवाह भएको पाइएको छ,’ अनुसन्धानमा संलग्न अधिकारीले अध्यक्ष श्रेष्ठको भनाइ उदृत गर्दै भने, ‘कसैले पैसा चाहियो भन्ने वित्तिकै कमिसनको लोभमा बचतकर्ताको पैसा दिने गरेको पाइयो ।’ उक्त सहकारीमा ६ सयजना बचतकर्ता रहेका छन् ।

सहकारीका कोषाध्यक्ष अधिकारीको घर ललितपुरस्थित इमाडोल रहेको र हाल उनी इटहरीमा बस्ने गरेको उनको दाबी छ । होम प्रसाद निरौला, प्रदिप कुमार खड्का होप भ्याली स्कुलका शिक्षक हुन् । उनीहरु पनि ललितपुरको ईमाडोलमा बस्ने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिएको अनुसन्धानमा संलग्न अधिकारीले बताए ।

यस्तै अनिल कुमार श्रेष्ठ घट्टकुलोमा बस्छन् भने इन्दिरा केसी नक्सालमा, दिपा मास्के धापासीमा बस्ने गरेका छन् । सहकारी ठगेर फरारको सूचीमा रहेका कोषाध्यक्ष अधिकारीसँग अध्यक्ष श्रेष्ठको सम्पर्क हुने गरेको पाइएको छ ।

हिराखुसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परे पनि अन्य ७ जना भने अझै फरार छन् ।

बचतकर्ताको पैसा फिर्ता नगरी भाग्नेमा सहकारीका सचिव उदयपुर जिल्ला कटारी नगरपालिका–४ का होम प्रसाद निरौला, सहकारीका कोषाध्यक्ष सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका–८ का गणेश अधिकारी रहेका छन् ।

यस्तै सहकारीका सञ्चालक समिति सदस्य स्याङजा जिल्ला आँधिखोला गाँउपालिका–३ की ईन्दिरा केसी, सञ्चालक समिति सदस्य काठमाडौं महानगरपालिका–२८ की दिया मास्के, सहकारीका सञ्चालक ओखलढुंगा साबिकको ज्यामिरे गाविस–५ का प्रदिप कुमार खड्का, सहकारीको सञ्चालक काठमाडौं महानगरपालिका–३२ का मनिक रत्न स्थापित र काठमाडौं महानगरपालिका–३३ बस्ने सहकारीका सञ्चालक सिता श्रेष्ठ फरार रहेका छन् ।

काठमाडौंको मैतिदेवीमा रहेको सहकारीले बचतकर्तालाई विभिन्न प्रलोभनमा पारी ठगी गरेको पीडितको भनाइ छ ।

फरार रहेका होम प्रसाद निरौला, गणेश अधिकारी, ईन्दिरा केसी, दिया मास्के, प्रदिप कुमार खड्का, मनिक रत्न स्थापित र सिता श्रेष्ठलेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको भन्दै अदालतमा मुद्दा दायर भएको छ । उनीहरुलाई सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम ७ वर्ष कैद र ७० हजार जरिवाना माग दाबी गरिएको छ ।