
काठमाडौं । काठमाडौंमा बुधबार दिउँसो हल्का वर्षा भएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त वायुको प्रवेशले देशभरको मौसममा बदली ल्याएको थियो ।
मंगलबारदेखि सक्रिय भएको यस प्रणालीले कोशीदेखि लुम्बिनीसम्म वर्षा गराएको भए पनि काठमाडौंमा पानी परेको थिएन ।
बुधबार दिउँसो काठमाडौंमा हल्का वर्षा भएको मौसम विभागले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आसपासको क्षेत्रमा अहिले पानी परिरहेको छ । तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको छ ।
वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ भने वायु प्रदूषणबाट नागरिकले राहत पाउने भएका छन् ।
काठमाडौं उपत्यकासहित झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका विभिन्न जिल्लामा पनि मेघगर्जन र चट्याङ सहित हल्का पानी परिरहेको छ ।
मौसमविद् धर्मराज उप्रेतीले आज-भोलि र पर्सि वर्षाको सम्भावना रहेको जनाए ।
यस बीच, कोशीको पहाडी क्षेत्र, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि पानी परेको छ । लामो समयपछि परेको वर्षाले काठमाडौंमा प्रदूषणमा केही राहत दिएको छ।
काठमाडौं उपत्यकाबाहिरका केही स्थानमा उल्लेखनीय वर्षा भएकोले वायु मण्डलमा फैलिएको धुँवा र धुलोको प्रदुषण हटेको छ ।
पछिल्लो २४ घन्टामा विभिन्न स्थानमा वर्षा मापन भएको छ । पाल्पाको जाल्पामा ३३.६ मिलिमिटर, म्याग्दीको मुनामा ३२.२ मिलिमिटर, सिन्धुपाल्चोकको चन्दर्कुमा २२.४ मिलिमिटर, सिन्धुपाल्चोककै घुम्थाङमा १९.४ मिलिमिटर, मेलम्ची घ्याङमा १०.२ मिलिमिटर, बोल्देमा १८.४ मिलिमिटर, बाहुनेपाटीमा १०.४ मिलिमिटर, दुबाचौरमा १३ मिलिमिटर र ढुंगेमा १२.४ मिलिमिटर वर्षा भएको छ।
कोशी क्षेत्रका मोरङको बाहुनीमा १९.८ मिलिमिटर, केराबारीमा १३.४ मिलिमिटर, झापाको गौरादहमा २५.८ मिलिमिटर, अनारमनी झापामा १३.२ मिलिमिटर, बाहुनडाँगीमा २१.४ मिलिमिटर, शनिश्चरेमा १२.२ मिलिमिटर र इलामको कन्काइमा १३ मिलिमिटर वर्षा भएको छ।










प्रतिक्रिया