२ अर्ब डलरपति बने विनोद चौधरी, फोर्ब्स भन्छः सबैभन्दा ठूलो सम्पत्ति ‘नबिल बैंकमा रहेको लगानी’

5.1k
Shares

काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति २ अर्ब अमेरिकी डलर पुगेको छ । अमेरिकी पत्रिका फोर्ब्सका अनुसार सन् २०२४ को तुलनामा २०० मिलियन डलर पुगेको हो ।

सन् २०२३ र २४ मा चौधरीको सम्पत्ति १ अर्ब ८०० मिलियन अमेरिकी डलर थियो । सन् २०१९ मा कुल सम्पत्ति १ अर्ब ७०० मिलियल रहेका चौधरीको कुल सम्पत्ति त्यसयता घटेको थियो ।

फोर्ब्सले हालै प्रकाशन गरेको ३ हजार २८ जना सम्मिलित नयाँ सुचीमा उनी १७६३ औं नम्बरमा छन् । ६९ वर्षिय उनी चौधरी ग्रुपको अध्यक्ष हुन् ।

फोर्ब्सका अनुसार चौधरीको प्रमुख सम्पत्ति देशकै ठूलोमध्येको एक नबिल बैंकमा रहेको लगानी र नेपालको लोकप्रिय वाइ वाइ चाउचाउ उत्पादन गर्ने सीजी फुड्स हुन् । वाइ वाइको भारत, सर्बिया र बंगलादेशमा पनि उत्पादन कारखानाहरू छन् । हालै इजिप्टमा पनि नयाँ कारखाना निर्माण भइरहेको छ । कम्पनीले चाँडै नै विभिन्न प्रकारका चटनी (सस) बजारमा ल्याउने योजना बनाएको छ ।

विश्वभरका १४३ होटलमा चौधरी ग्रुपको स्वामित्व वा व्यवस्थापन छ । यो सूचीमा भारतको ताज होटल चेन पनि पर्दछ जहाँ चौधरीको प्रत्यक्ष लगानी छ ।

चौधरीका छोराहरू निर्वाण, राहुल र वरुण उनको व्यवसाय सञ्चालनमा साथ दिन्छन् । निर्वाण नेपालमा छन् भने राहुल र वरुण विदेशमा बस्छन् । निर्वाण र राहुल सीजी समूहका प्रबन्ध निर्देशक हुन् ।