
काठमाडौं । शुक्रबार तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा तोडफोड र फोहोर भएको भन्दै काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
जरिबानाको पत्र लिएर महानगरको टोली आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको निवास निर्मल निवास पुगेको थियो । तर, पूर्वराजाले शाहको पत्र बुझ्न अस्वीकार गरेका छन् ।
पूर्वराजाका समर्थकले शुक्रबारको प्रदर्शनमा ज्ञानेन्द्रलाई जोड्नु महानगरका मेयर बालेन साहको स्टन्ट भएको आरोप लगाएका छन् ।
जनताको आन्दोलनमा पूर्वराजाको नाम जोडेको भन्दै समर्थकले जरिबाना रकम संकलनका लागि अभियान नै सञ्चालन गरिरहेका छन् ।
पोर्चुगलमा बसेर राजावादीलाई समर्थन गर्दै आएका रमेशराज बास्तोलाले रकम संकलनका लागि अभियान सुरु गरेका थिए ।
‘लौ म ५० हजार दिन तयार छु, अरू को हुनुहुन्छ, सबै मिलेर तिरौं’ भन्दै सुरु गरेको अभियानमा २४ घण्टामा ५ लाख ७२ हजार रुपैयाँ उठेको जनाइएको छ ।
बास्तोला तिनै हुन् जसलाई राजावादी प्रदर्शनको समर्थन गरेको भन्दै सरकारले पोर्चुगलको लिजवन सहरको पर्यटन प्रवर्द्धक पदबाट हटाइएको थियो ।
बास्तोलाले ७ लाख ९३ हजार उठेपछि अभियान बन्द गरिने भन्दै सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
काठमाडौं महानगरका मेयर बालेन शाहले आफ्नो अधिकारको प्रयोग गर्दै जरिबाना तोकेको भए पनि पूर्वराजाको नाममा जरिबाना काट्न भने नसुहाउने उल्लेख गरेका छन् ।
पूर्वराजाले १५ गतेको आन्दोलनमा तिमीहरुले आन्दोलन गर, तिमी कमान्डर, तिमी संयोजक भनेर नतोकेकाले जरिबाना उनलाई लगाउन नमिल्ने उनको तर्क छ ।
आन्दोलन राष्ट्रवादी नागरिकको भएकोले पैसा पनि राष्ट्रवादी नागरिकले तिर्ने उनको भनाइ छ ।
प्रतिक्रिया