जीवन बिमा कम्पनीले ८ महिनामा आर्जन गरे १ खर्ब बढी बिमाशुल्क, कुन शीर्षकमा कति ?

189
Shares

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा १४ जीवन बिमा कम्पनीले १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् ।

जीवन बिमा कम्पनीहरुले यो अवधिमा वैदेशिक रोजगार बाहेक प्रथम बिमाशुल्क २१ अर्ब १२ करोड ५४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । यस्तै वैदेशिक रोजगार बिमाशुल्क १ अर्ब ९६ करोड ६४ लाख रुपैयाँ र नविकरण बिमाशुल्क ८५ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ रहेको छ । आठ महिनासम्म १ करोड ३४ लाख ४६ हजार ७९२ वटा सक्रिय बिमालेख रहेको छ।

प्राधिकरणका अनुसार माघ महिनामा मात्रै १३ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । माघ महिनामा मात्रै जारी बिमा लेखको संख्या ४ लाख १९ हजार २५३ रहेको छ ।

प्राधिकरणका अनुसार फागुन मसान्तसम्म राष्ट्रिय जीवन बिमा कम्पनीले ४ अर्ब ४७ करोड ९३ लाख, नेशनल लाइफ इन्स्योरेन्सले १३ अर्ब ६२ करोड ८४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २९ अर्ब ३९ करोड ८९ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ अर्ब ५६ करोड ५ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

यस्तै मेट लाइफले ३ अर्ब ८८ करोड ९ लाख, एशियन लाइफले ५ अर्ब ६९ करोड ८२ लाख, आइएमई लाइफले ३ अर्ब २८ करोड ७८ लाख, सन नेपाल लाइफले २ अर्ब ७० करोड २९ लाख, रिलायबल नेपाल लाइफले ३ अर्ब १७ करोड ५९ लाख, सिटिजन्स लाइफले ४ अर्ब ४९ करोड रुपैयाँ बिमाशुलक आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार सूर्यज्योति लाइफले ६ अर्ब ६९ करोड ५० लाख, सानिमा लाइफले ४ अर्ब २९ करोड २६ लाख, हिमालयन लाइफले ११ अर्ब २२ करोड २७ लाख र प्रभु महालक्ष्मी लाइफले ३ अर्ब १९ करोड ७६ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ।