ओली सरकारकै मन्त्री भन्छन्ः पूर्वविशिष्टलाई सुविधा दिन हुँदैन


नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था गर्न नहुने बताए । राज्यले उनीहरुलाई मानसम्मान गर्नु ठीक भए पनि सुविधा भने दिन नहुने उनको भनाइ छ ।

उनले नेपालगञ्ज मेडिकल कलेजका समस्या कलेज प्रशासन आफै‌ले खोज्नुपर्नेमा जोड दिए । ‘मेडिकल कलेज, नीति र नियमले चल्नुपर्छ र राज्यले निर्धारण गरेका सम्पूर्ण नीतिनियमलाई मान्नुपर्छ,’ उनले भने ।

मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी तथा सामुदायिक अस्पतालका दक्ष जनशक्तिलाई दिने तलब श्रम ऐनले तोकेबमोजिम नभए ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिए । उनले औषधिको मूल्य समायोजनका लागि काम हुन लागेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुनेगरी काम गरिने बताए ।

स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सरकारले धेरै लगानी गरेको उल्लेख गर्दै ती सबै पूर्ण क्षमतामा सञ्चालन हुने जानकारी दिए । उनले बिरामीहरुका लागि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारको योजना रहेको सुनाउँदै ६६ लाख घरपरिवारलाई बिमा योजना जोडिने बताए ।

Skip This