
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिवर्तन भएका कानुनलाई कार्यान्वयनमा लैजान सरकारले जोड दिनुपर्ने बताए ।
शुक्रबार राष्ट्रिय उद्योग तथा व्यवसाय महासंघको अधिवेशनमा बोल्दै उनले परिवर्तन भएका कानुनलाई कार्यान्वयन गरी सरकारले नीतिगत स्थायित्वको प्रतिवद्धता दिनुपर्ने बताए ।
वर्तमान सरकारले अवरोध मानिएका कानुनमा सुधार गरेर व्यवसायिक वातावरण बनाउन खोजेको निर्णय स्थायी रुपमा राख्न पनि स्थायित्व आवश्यक भएको बताए । नेपालमा राम्रा कानुन र व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा कसैले लाभ लिन नसकेको सत्यलाई सबैले बुझ्न जरुरी रहेको उनको भनाइ छ ।
नीतिगत स्थायित्व भए नेपालमा नेपालभित्रकै पुँजी र लगानीले धेरै काम गर्ने वातावरण बन्ने पनि उनले बताए ।
सरकारले व्यवसायिक वातावरण बिथोल्ने पक्षलाई समयमै चिन्नुपर्ने उनको भनाइ छ।
विभिन्न समयमा व्यवसायी र उद्योग प्रतिष्ठानमा हुने अवरोध र अवाञ्छित क्रियाकलापहरुले नेपालमा लगानी गरेर गल्ती गरियो की भन्ने सोच आउन थालेको ढकालले गुनासो गरे ।
व्यवसायीले उद्योग प्रतिष्ठान सञ्चालन गर्न लिएको जोखिम र हिम्मतलाई कसैले नजरअन्दाज गर्न नहुने उनी बताउँछन् ।
प्रतिक्रिया