सिन्धुपाल्चोकमा समातिएको अवैध भेप भाटभटेनीको होइनः मिनबहादुर गुरुङ

3.5k
Shares

काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङले सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको नभएको बताएका छन् । गुरुङले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभामा सांसदद्वय गंगा कार्की र मनिष झाले व्यक्त गरेको धारणामा कुनै पनि सत्यता नभएको स्पष्ट पारेका हुन् ।

सार्वभौम जनताका प्रतिनिधिमुलक थलो प्रतिनिधिसभामा व्यक्त भएका धारणाहरु तथ्यमा आधारित हुनुपर्छ भन्ने गुरुङले बताएका छन् । साथै उनीहरूका धारणामा आधारित भई सम्प्रेषण भएका समाचारप्रति पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको गुरुङले बताएका छन् ।

तातोपानी भन्सारबाट शिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारीभित्र नपर्ने उनले जानकारी गराएका छन् । तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनी राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’लाई उनले खेदजनक भनेका छन् ।

‘पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने नै छ भन्ने विश्वास भाटभटेनीको रहेको छ,’ उनले भनेका छन्, ‘भाटभटेनी वस्तु व्यापारमा सबैभन्दा बढी कर तिर्ने व्यापारिक संस्था भएको र मुलुकको दीर्घकालीन हित हेर्ने संस्था भएकोले कहिल्यै पनि गलत क्रियाकलापका पछि नलाग्ने पनि यहाँहरुमा विश्वास दिलाउन चाहन्छौँ ।’

साथै अर्बौं रुपैयाँ दान दातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन ‘अवैध भेप’लाई जोडेर प्रचार गरिनु राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षडयन्त्र रहेको उनको ठहर छ । एकजना चालकले गरेको अपराधसँग जोडेर भाटभटेनीजस्तो अग्रणी कर्पोरेट संस्थाको बदनाम गराउने कार्यमा नलाग्न पनि उनले अपील गरेका छन् ।