नेपालले जोखिममा आधारित पुँजी र सुपरीवेक्षणको अभ्यासमा भुटानलाई सहयोग गर्न तयारः अध्यक्ष ओझा

प्राधिकरणका अध्यक्ष ओझा र भुटानका डेपुटी गभर्नर छोदेनबीच भेट

112
Shares


काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बीमा सम्बन्धी द्विपक्षीय सहयोग र आपसी ज्ञान एवम् अनुभव आदान–प्रदान सम्बन्धमा छलफल भएको छ ।

प्राधिकरणका अध्यक्ष ओझासँग भएको भेटमा नेपाल र भुटानको बीमा क्षेत्रको विद्यमान अवस्था, नेपालले अभ्यास गर्दै आएको जोखिममा आधारित पूँजी तथा जोखिममा आधारित सुपरीवेक्षण, पुनर्बीमा सम्बन्धी नेपालको अनुभव र द्विपक्षीय सम्बन्ध सुदृढीकरण लगायतका विषयमा छलफल भएको छ ।

भेटमा अध्यक्ष ओझाले नेपालले बीमा क्षेत्रमा जोखिममा आधारित पुँजी र जोखिममा आधारित सुपरीवेक्षणको अभ्यास गरिरहेको जानकारी गराए । यस सम्बन्धमा भुटानलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

अध्यक्ष ओझाले आगामी दिनमा भुटानको रोयल मनिटरी अथोरिटीसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न र बीमा क्षेत्रलाई नयाँ उचाई दिनका लागि असल अभ्यासहरू आदान–प्रदान गर्न प्राधिकरण तयार रहेको बताए ।

भुटानको बीमा क्षेत्रको समेत नियामक निकाय रहेको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनले नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित पुँजी, जोखिममा आधारित सुपरीवेक्षण र पुनर्बीमा सम्बन्धमा हासिल गरेका ज्ञान एवम् अनुभव भुटानका लागि समेत लाभदायक हुने बताइन् ।

डेपुटी गभर्नर छोदेनले बीमा क्षेत्रको समग्र विकासका लागि नेपाल बीमा प्राधिकरणसँगको सम्बन्धलाई अझ सुदृढ गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

Skip This