पुनर्बीमा प्रयोजनका लागि विदेशी मुद्रा साट्न नेपालका पुनर्बीमकलाई प्रस्ताव गरेको प्रमाण अनिवार्य


काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा गर्ने प्रयोजनका लागि विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थालाई व्यवस्थित गरेकाे छ । प्राधिकरणले पुनर्बीमालाई थप प्रभावकारी बनाउन जारी गरेका विभिन्न व्यवस्था बारे जानकारी गराउँदै सोही अनुसार विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेश गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन दिएको हाे ।

फ्याकेल्टेटिभ पुनर्बीमा प्रयोजनका लागि विदेशमा रकम पठाउन विदेशी मुद्रा सटहीका लागि प्राधिकरणमा प्रस्ताव पेश गर्दा अनिवार्यरूपमा बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालका पुनर्बीमकलाई प्रस्ताव गरेको प्रमाण र नेपालका पुनर्बीमकले उक्त प्रस्ताव २४ घण्टाभित्र अस्वीकार गरेको प्रमाण बीमकले पेश गर्नुपर्ने व्यवस्था गरिएको प्राधिकरणले दिएको निर्देशनमा उल्लेख छ ।

यसैगरी, बीमकले विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्दा पुनर्बीमा निर्देशिका, २०८० बमोजिम विदेशी पुनर्बीमा कम्पनी रेटेड हुनुपर्ने व्यवस्था छ । पुनर्बीमा वापत विदेशी मुद्रा भुक्तानी गरेपश्चात् प्रत्येक त्रैमास समाप्त भएको १५ दिनभित्र उक्त विदेशी पुनर्बीमकले भुक्तानी बुझिलिएको प्रमाण नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

विदेशी मुद्राको सटही सिफारिसका लागि नेपाल बीमा प्राधिकरणमा पेश हुने पत्रमा बीमकका प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर हुनुपर्नेछ । विदेशी मुद्रा सटहीका लागि पेश गर्ने सबै कागजातका प्रतिलिपिहरूमा बीमकको छाप सहित सम्बन्धित कर्मचारीले हस्ताक्षर गरेको हुनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

यसकाे प्रभावकारी कार्यन्वयनले पुनर्बीमा गर्दा बाहिरिने विदेशी मुद्रा बचत हुने बीमा क्षेत्रका जानकारहरु बताउँछन् । यस्तै विदेशी पुनर्बीमा कम्पनीमा पनि रेटिङ भएका विदेशी कम्पनीमा मात्रै गर्नुपर्ने व्यवस्थाले राम्राे विदेशी पुनर्बीमा मात्रै पुन्रबीमा हुने बीमा क्षेत्रका जानकारहरु बताउँछन् ।