‘कम्युनिष्ट विचारले कुनै पनि देश धनी बनेका छैनन्, नैतिक र धार्मिक पुँजीवादले समृद्धि दिन्छ’

448
Shares

मेरो यो वक्तव्य नेपालमा नैतिक सम्पत्ति सिर्जनाको विषयमा केन्द्रित हुनेछ । मेरो मातृभूमि भारत र तपाईंहरूको देश नेपालबीच एक सांस्कृतिक र पारस्पारिक सम्बन्ध छ । भारतले नैतिक सम्पत्तिमार्फत् हासिल गरेको उपलब्धि नेपालका लागि पनि सिकाइ हुनेछ ।

त्यसअघि विश्व अर्थतन्त्रका बारेमा कुरा गरौं, जुन मैले अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी निर्देशकका रूपमा नजिकबाट नियाल्न पाएँ ।

विश्व अर्थतन्त्रमा आएको उथपुथल तपाईंहरूले पनि नियालीरहनु भएको छ । विश्वका आर्थिक शक्तिहरू आगामी केही दशकपछि पावरहाउस नरहन सक्छन् । यो संरचनामा ठूलो फेरबदल आउनेछ । यो परिवर्तन सन् २००८-२००९ को ग्लोबल फाइनान्सियल क्राइसिसबाट सुरु भएको हो । त्यसबेलासम्म विश्वको अर्थव्यवस्थाका लागि व्यापार निकै महत्वपूर्ण छ भन्ने कुरामा विश्वका देश सहमत थिए । सो संकटपछि भने यो सहमति हरायो ।

त्यसपछि देशहरू दुई ध्रुवमा बाँडिए । एकथरी देश न्यायको शासनमा आधारित प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्छन्, अर्को देशहरुमा प्रजातन्त्र नहुन पनि सक्यो । अहिले विश्व अर्थतन्त्र विशाल दुई ध्रुवीयरूपमा अघिबढेको छ । यस्ता दिनमा भारतले भने महत्वपूर्ण भूमिका निर्बाह गरेको छ ।

नेपालसँग सांस्कृतिकरूपमा समानता भएको एउटामात्रै मुलुक भारत भएकाले यहाँका मानिसहरुलाई थाहा छ कि भारत इतिहासमा कहिल्यै पनि आक्रमक देश होइन । भारतको अर्थव्यवस्थाको सहयात्री भए तापनि भारत नैतिकरूपमा अब्बल रहेको पाएको छु ।

सन् १९९१ मा भारतसँग मात्रै २ साताको आयात धान्न सक्ने मात्रै विदेशी मुद्राको सञ्चिति थियो । नाजुक आर्थिक स्थितिमा हुँदासमेत भारतले आफ्नो ऋणको दायित्व डिफल्ट गरेन । नैतिकरूपमा आफूलाई सबल देखिएको भारतले ग्लोबल क्राइसिसमा समेत वैकिल्पिक बाटो तय गरेन । मेरो विचारमा भारतको यही सांस्कृतिक आदर्शले भारतलाई विश्व अर्थतन्त्र तथा भुराजनीतिको नेतृत्वमा पुर्‍याउनेछ । यो नैतिकता, संस्कृति र आदर्श नेपालसँग पनि छ ।

यो चरित्रलालाई महाउपनिषद्को एउटा श्लोकले व्यक्त गर्दछः
अयं निजः परो वेति गणना लघुचेतसाम्,
उदारचरितानां तु वसुधैव कुटुम्बकम् । ।

अर्थात् सानो चेत वा विचार हुनेहरु यो मेरो यो अर्काको भनेर गणना गर्छन् । उच्च चरित्र तथा चेतना हुनेहरु संसारलाई एक परिवार मान्दछन् । भारत यही चेतनाका कारण अर्थतन्त्र तथा भुराजनीतिमा संसारकै नेतृत्त्वकर्ताका रूपमा आफूलाई उभ्याउनेछ ।

आर्थिक विकास र वृद्धि किन महत्वपूर्ण छ भन्ने कुरा चर्चा गरौं । सन् १९९१ मा भारतले ठूलो आर्थिक संकट सामना गर्नु पर्‍यो । जुन भारतका लागि इतिहासकै सबैभन्दा खराब समय थियो ।

त्यसअघि भारतमा लामो समयसम्म समाजवादी अर्थव्यवस्था थियो । एक अर्थशास्त्रीको नाताले पनि म भन्न सक्छु कि संसारमा कुनै पनि देश छैनन्, जसले समाजवादी वा साम्यवादी (सोसियलिज्म वा कम्युनिज्म) आर्थिक नीति अवलम्बन गरेर समृद्धि प्राप्त गरेका छैनन् । यो कुरा प्रमाण र तथ्याङ्कहरूले स्पष्ट रूपमा देखाउँछन् । यो तथ्यलाई राजनीतिज्ञ र नीति निर्माताहरूले समग्ररूपमा बुझ्न आवश्यक छ ।

सन् १९९१ पछि भारतले बजार अर्थतन्त्र अपनायो । भारतले अपनाएको सो व्यवस्थालाई म ‘धार्मिक पुँजीवाद’ वा ‘दक्षिणपन्थी पुँजीवाद’ भन्दछु । पुँजीवादले कहिलेकाहीँ केवल धनी मानिसहरूले मात्र लाभ उठाउन दिने स्थितिमा पुर्‍याउन सक्छ । त्यसैले समावेशी आर्थिक वृद्धि महत्त्वपूर्ण हुन्छ । पछिल्ला १० वर्षमा भारत समानता र समावेशी आर्थिक वृद्धिमा ठूलो सफलता हासिल गर्न सकेको छ ।

उपलब्धिलाई तथ्याङ्कमै केलाउने हो भने विश्व बैंकको गरिबीको रेखाका आधारमा सन् २०१२ मा भारतमा १२ प्रतिशतभन्दा बढी गरिबी थियो जुन अहिले त्यो १ प्रतिशतभन्दा तल झरेको छ । यस अवधिमा भारतमा सम्पत्ति र उपभोगका आधारमा असमानता पनि घटेको छ । यो तथ्यलाई भारतको शहरी र ग्रामीण सर्वेक्षणले पुष्टि गर्छन् ।

कोरोना महामारीपछि भारतले ७ प्रतिशतको उच्च आर्थिक वृद्धि हासिल गरेको छ । सन् १९९१ मा २ खर्ब ७० अर्ब अमेरिकी डलर रहेको भारतीय अर्थतन्त्रको आकार ४० खर्ब अमेरिकी डलरबराबर पुगेको छ । भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने बाटोमा अग्रसर छ । यो ठूलो उपलब्धि भारतले अपनाएको दक्षिणपन्थी वा नैतिक पुँजीवादको कारण हासिल भएको हो । यो पुँजीवादले बजार अर्थतन्त्रलाई सम्मान गर्दछ भने समतामूलक समृद्धि प्राप्त गर्न सघाउँछ ।

नैतिक सम्पत्तिको भूमिका कति रहेछ भन्ने त बुझिहाल्नु भयो ।

मेरो बुवाले भारतीय रेलवेमा काम गर्नुहुन्थ्यो । म आईआईटीमा पढ्न थालेपछि उहाँलाई चिन्ता हुन थाल्यो कि म अब एलिट अर्था् सम्भ्रान्त वर्गको व्यक्ति बन्नेछु र भारतको संस्कृति बिर्सन्छु भनेर । त्यसपछि उहाँले मलाई धार्मिक ग्रन्थहरू पढ्न भन्नुभयो । भागवत गीता लगायत ग्रन्थ पढें । ३५ सय वर्ष पुराना ग्रन्थ पढेर मैले भारतको सांस्कृतिक मूल्य र अर्थतन्त्रलाई राम्रोसँग बुझ्ने मौका पाएँ ।

भारतमा जन्मनुको फाइदा नै यही हो कि हामी धार्मिक ग्रन्थहरू अध्ययन गर्ने अवसर पाउँछौं । ती ग्रन्थहरूले वास्तवमै आँखा उघार्ने किसिमका छन् । यदि हामी पछिल्लो २ हजार वर्षको विश्व अर्थतन्त्रलाई हेर्‍यौं भने सन् १७५० सम्म भारतले विश्वको अर्थतन्त्रको कम्तीमा एक तिहाइ हिस्सा ओगटेको देखिन्छ । बजार अर्थतन्त्रलाई सम्मान गरेका कारण हामी सो स्थितिमा थियौं ।

जो चन्द्रगुप्त मौर्यका आर्थिक र रणनीतिक सल्लाहकार कौटिल्य थिए । कौटिल्यले आफ्नो पुस्तक ‘अर्थशास्त्र’ मा लेखेका थिए, ‘हे राजा, तिमी जाऊ र आर्थिक क्रियाकलापमा भइरहेको अवरोध हटाऊ । त्यसपछि मात्रै राज्य र नागरिक समृद्धि हासिल गर्नेछन् ।’

समाजवाद र साम्यवाद पूर्वीय सांस्कृतिक र आर्थिक विचार होइनन्, यी युरोपबाट आयात गरिएका दर्शन हुन् । भारत र नेपालजस्तो नैतिक र सांस्कृति उच्चचरित्र भएका देशले यो अपनाउने होइन । थोरै मानिसहरूले मात्र जान्दछन् कि साम्यवादका पिता कार्ल मार्क्स पुँजीवादी जोसेफ एंगेल्सका पिताबाट पालित-पोषित थिए । यसैको अर्थ यो हो कि कम्युनिस्टका दस्तावेज, दास क्यापिटल पुस्तक पुँजीपतिको आर्थिक सहयोगमा लेखिएको हो ।

पुँजीवादीको आर्थिक सहायता नहुँदो हो त कम्युनिस्टको उदय नै भएको हुने थिएन । यो बुझ्न जरूरी छ ।

भारतको अर्थतन्त्रले अहिले जसरी प्रगति हासिल गरेको छ, त्यो धार्मिक पुँजीवादको कारण हो । शास्त्रमा ‘धर्म, अर्थ, काम, मोक्ष’ लाई पुरुषार्थ भनिन्छ । अर्थ भनेको सम्पत्ति हो । तपाईं घरमा कुनै भल्ट वा दराजमा भएमा तपाईंले के लेख्नुहुन्छ ? ‘शुभ लाभ’ मात्र लेखिन्छ, अशुभ लाभ वा शुभ हानी लेख्नुहुन्न । सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदमा श्रीशुक्त छन् । श्रीशुक्तमा धनकी देवी लक्ष्मीलाई आह्वान गरिएको छ । अर्थात् घर र देशमा सम्पति भित्र्याउन श्रीशुक्त बढिन् । यसरी पूर्वीय संस्कृतिको जीवनशैलीसँग सम्पत्ति सृजना जोडिएको छ ।

सम्पत्ति र सम्पत्ति सिर्जना दानवका रूपमा हेरिँदैन । सम्पत्तिलाई बरदान मानिन्छ । सम्पत्तिलाई सम्मान गरिन्छ ।

यदी भारत, नेपाल र हामी धनी बन्न चाहन्छौं भने समाजवाद र साम्यवाद जस्ता आयातित विचारलाई अस्वीकार गर्नुपर्छ । हाम्रो पुर्खाहरूले अवलम्बन गरेको विचार नै नैतिक पुँजीवाद र सम्पत्ति सृजनाको हो । सो विचारलाई बुझ्नुपर्छ, अबलम्बन गर्नुपर्छ । हाम्रा पुर्खाले असिमित सफलता र सम्पत्ति हासिल गरेका थिए। भविष्यमा पनि यही विचारलाई अघि बढाउनुपर्छ । सम्पत्ति आर्जन गर्दा नैतिक मूल्यहरूको पालन गर्नु महत्त्वपूर्ण छ ।

अन्य माध्यमबाट सम्पत्ति सिर्जना गर्नुभन्दा नैतिक माध्यमबाट नाफा वा सम्पत्ति कमाउनु सही कुरा हो । वस्तु तथा सेवा उत्पादन गरी उपभोक्ताफाई लाभ हुने गरी विक्री गरेर नाफा आर्जन गर्नुपर्छ । नाफाखोरी र नाफा आर्जनमा ठूलो भिन्नता छ । नाफाखोरी खराब हो, तर नाफा आर्जन भने उचित कुरा हो ।

आर्थिक समृद्धिका लागि सम्पत्ति सृजनालाई महत्त्व दिएपछि मात्र उद्यमशीलताको महत्व बुझ्न सक्छौं । तपाईं घर जानुहोस् र तपाईंले खाने दाल र रोटी कहाँबाट आउँछ ? विचार गर्नुहोस् ।

त्यो तपाईंले गरेको रोजगारीबाट आएको हो । त्यो रोजगारी कसले दिएको हो भने कुनै सम्पत्ति भएको व्यक्तिले लगानी गरेर तपाईंलाई रोजगारी दिएको हो । यसले तपाईंका बच्चाहरूलाई शिक्षा प्राप्त गर्न र तपाईंलाई स्वास्थ्य सेवा प्राप्त गर्नका लागि मौका दिएको छ । यसैले नैतिक सम्पत्ति सृजनाको महत्त्व हामी सबैले बुझ्न जरुरी छ ।

हाम्रो व्यवस्थामा तसर्थ नैतिक सम्पत्ति सिर्जनाको अर्थ बुझ्न आवश्यक छ । रोजगारी नै समावेशी विकासको पहिलो आधार हो । मेरो बुवाले रेलवेमा जागिर नखानुभएको भए, म आज यो स्थानमा नहुँदो हो ।

सन् २०२१ मा मैले भारतको आर्थिक सर्वेक्षण लेख्ने अवसर पाएको थिएँ, जुन ‘समृद्ध भारतका लागि नैतिक सम्पत्ति सृजना’ भन्ने विषयमा केन्द्रित थियो ।

नेपालको सन्दर्भमा पनि नैतिक सम्पत्ति सृजना महत्त्वपूर्ण छ । यो केवल नेपालका लागि मात्र नभएर समग्र दक्षिण एशियाका मुलुकहरूको समृद्धिका लागि पनि महत्त्वपूर्ण कुरा हो । नेपाल आउँदा प्रभाकर राणाजस्ता नैतिक उद्यमीहरूको योगदान थाहा पाउन मौका पाएँ, त्यसका लागि धन्यवाद ।

(नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की)ले संस्थाका संस्थापक अध्यक्ष तथा उद्यमी स्व. प्रभाकर शमसेर जंगबहादुर राणाको स्मृतिमा आइतवार आयोजना गरेको ‘पहिलो प्रभाकर राना मेमोरियल लेक्चर’ मा आईएमएफका कार्यकारी निर्देशक तथा भारतीय प्रधानमन्त्रीका पूर्वप्रमुख आर्थिक सल्लाहकार डा. कृष्णमुर्ति सुब्रमनियनले व्यक्त गरेको मन्तव्यको अनुवादित अंश ।)